आरपि उपाध्याय / त्रिवेणी ,२४ साउन
पुर्वी नवलपरासी विनयी त्रिवेणी ६ स्थित गजेन्द्र मोक्ष धाममा शुक्रबार एक धार्मिक समारोह सहितको भेला सम्पन्न भएको छ।
धार्मिक समारोहमा रुपन्देही,पुर्व र पश्चिम नवलपरासी,काठमाडौं र चितवनका धार्मिक अगुवाहरुको सहभागिता रहेको थियो।
धार्मिक समारोहमा आउदै गरेको कार्तिक १९ गतेदेखि मङ्सिर १८ गतेसम्म गजेन्द्र मोक्ष नारायण बिराट महायज्ञ (२०८२) सम्पन्न गर्नको लागि १००८ मुल समिति चयन भएको छ।
महायज्ञ कार्य सम्पादन गर्न कार्य सम्पादक समिति पनि गठन भएको हो।
बिराट महायज्ञ सञ्चालन गर्न रुपन्देहीको भैरहवा,बुटवल,पश्चिम नवलपरासीको बर्दघाट, परासी,बेलाटारी,सुस्ता,त्रिवेणी,कावासोती लगायत क्षेत्रहरूबाट पनि प्रतिनिधित्व हुने गरि मुल समिती गठन गरिएको मुक्तिनाथ पिठाधिस कमल नयनाचार्यका उत्तराधिकारी स्वामी कृष्ण प्रपन्नाचार्यले जानकारी दिनुभयो।
गजेन्द्र मोक्ष धाम स्थित गौशाला निर्माण लगायत कार्य गर्न महायज्ञको आयोजना गरिएको पनि उत्तराधिकारी स्वामी प्रपन्नाचार्यले जानकारी दिनुभएको छ।
सो अवसरमा मुक्तिनाथ पिठाधिस स्वामी कमल नयनाचार्यले मुक्तिनाथ भगवानले सबै प्राणीको कल्याण र रक्षा गर्नु हुने भएकोले जय श्री मुक्तिनाथको अभिवादनलाई सुरु गरिएको बताउनु भयो।
भगवान मुक्तिनाथको दर्शन गर्न भारतको विभिन्न प्रान्तबाट ठूलो सङ्ख्यामा भक्तजनहरु नेपाल आएको स्मरण गर्दै स्वामी नयनाचार्यले त्रिवेणीको गजेन्द्र मोक्ष धामलाई केन्द्रविन्दु बनाएर यो क्षेत्रमा वृहत पहिचान सहितको तीर्थस्थल बनाउने कार्यमा लागिपरेको पनि जिकिर गर्नुभयो।
उहाँले नेपाल भारतका विभिन्न नाथ नामाकरण गरिएको तीर्थस्थल मध्ये मुक्तिनाथ भगवानले सबै प्राणीलाई मुक्ती दिने तीर्थ भएकोले गजेन्द्र मोक्ष र मुक्तिनाथ दुवै स्थान हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्रविन्दु रहेको पनि धारणा राख्नुभयो।
सो अवसरमा अखण्ड ज्योति बाबा स्वामी जी च्यारिटेबल ट्रस्टका अध्यक्ष भैरहवा निवासी कृष्ण शर्माले बिराट महायज्ञ सम्पन्न गर्न सबै भक्तजनलाई त्रिवेणी ल्याउने कार्यमा सहयोग गर्न सबैमा आग्रह गर्नुभयो।
शर्माले स्वामी जीले गरेको महासंकल्प पूरा गर्ने कार्यमा तन,मन,धनले सहयोग गर्नुपर्ने विचार व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा उद्योग वाणिज्य संघ नवलपरासीका पुर्व अध्यक्ष बिरेन्द्र अग्रहरीले धार्मिक पर्यटकीय क्षेत्रको दृष्टिकोणले गजेन्द्र मोक्ष धाम निकै महत्वपूर्ण रहेकोमा मोक्ष धाममा सफाइ कार्यलाई अगाडि बढाउन पनि आग्रह गर्दै त्रिवेणीमा आन्तरिक र बाहय पर्यटकलाई भित्राउने कार्यमा लाग्न हामी सबैको परम कर्तव्य रहेको विचार व्यक्त गर्नुभयो।
धार्मिक कार्यक्रममा ट्रस्टका कोषाध्यक्ष मङ्गल भण्डारी,रामग्राम नगरपालिका का पुर्व मेयर नुरेन्द्र गुप्ता लगायत ५ दर्जन धार्मिक व्यक्तित्वले महायज्ञ सम्पन्न गर्न आफ्नो विचार सहितको सुझाव दिनुभएको थियो।
भेलाले मुक्तिनाथ पिठाधिस स्वामी कमल नयनाचार्यको अध्यक्षतामा १००८ सदस्यीय मुल समिति गठन भएको छ।
जसको सह अध्यक्षमा करपात्री स्वामी कृष्ण प्रपन्नाचार्य चयन हुनुभएको छ भने वरिष्ठ उपाध्यक्षमा कृष्ण शर्मा चयन हुनुभएको छ। त्यसैगरी समितिको महासचिवमा भैरहवा निवासी गणेश क्षेत्री र दिपक कुवर चयन हुनुभएको छ भने सचिवालय सचिवमा परासी निवासी ओम प्रकाश अग्रहरी चयन हुनुभएको जानकारीमा आएको छ।
मुल समितिका पदाधिकारी सहित कार्यसम्पादन समितिको बैठक एक साताभित्र बस्ने र अन्य उपसमिति पनि चयन हुने स्वामी कृष्ण प्रपन्नाचार्यले जानकारी दिनुभयो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

