आरपि उपाध्याय / नवलपरासी ,२२ साउन
शैक्षिक ऐक्यवद्धताको समूह नेपाल (जिसन नवलपरासी) को २३ औं वार्षिकोत्सब समारोह सुनवल २ मा विहीबार एक भव्य कार्यक्रमका बिच सम्पन्न भएको छ।
जिसन नवलपरासीका अध्यक्ष थमन शेरचनको अध्यक्षतामा वार्षिकोत्सब समारोह सम्पन्न भएको हो।
कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएकी सुनवल नगरपालिका प्रमुख बिमला अर्यालले संगठन सञ्चालकहरुले अनुशासनलाई केन्द्रविन्दु बनाएर अगाडि बढ्नुपर्ने बताउदै उहाँले राम्रो विषय राम्रै हुने तथा सत्य विषयवस्तुबाट अनुशासित र लगनशील विद्यार्थी उत्पन्न हुने विचार व्यक्त गर्नुभयो।
नगर प्रमुख अर्यालले वर्तमान समयमा गुणस्तरीय शिक्षाको आवश्यकता रहेकोेले यसतर्फ सम्पुर्ण गुरुवर्ग सचेत भइ राष्ट्रले दिएको जिम्मेवारी पूरा गर्न लाग्नुपर्ने धारणा पनि राख्नु भएको थियो।

कार्यक्रममा रामग्राम नगरपालिका का शिक्षा अधिकारी सुन्दर खनालले जिसनमा आबद्ध विद्यालयहरुले एकै किसिमको विषयवस्तु लागू गरेर अगाडि बढ्नुपर्ने तथा अभिभावकको चाहना राष्ट्र नीति अनुरुप शिक्षा दिनुपर्ने कुरामाथी जोड दिनुभएको थियो।
त्यसैगरी वार्षिकोत्सब समारोहमा सुनवल नगरपालिका का शिक्षा अधिकारी पशुपति भट्टराईले सरकारको नीति अनुसार शैक्षिक गतिविधि अगाडि बढाइ शैक्षिक क्रियाकलाप सञ्चालन गर्नुपर्ने बताउदै शिक्षकहरुको क्षमता विकासको लागि संस्थागत विद्यालय र निजी विद्यालय बिच स्वस्छ प्रतिस्पर्धा हुनुपर्ने सुझाव दिनुभयो।
कार्यक्रममा जिसनका वरिष्ठ सल्लाहकार सन्तोष रौनियारले जिसन आफैमा प्राज्ञिक संस्था भएकोले यो संस्थाबाट उत्पादन हुने जनशक्ति राष्ट्रिय जनशक्ति रहने तथा यो संस्था आफ्नो लक्ष्य अनुसार गन्तव्यमा पुग्नको लागि अगाडि बढिरहेको जिकिर गर्नुभयो।
सो अवसरमा जिसनका वरिष्ठ सल्लाहकार ईन्द्र गुरुङले जिसनले आफुले बनाएको नियम अनुसार अगाडि बढ्नुपर्ने धारणा राख्दै जिसनको नीति अनुसार नै सबै आबद्ध विद्यालयहरु एकताबद्ध भइ चल्नुपर्ने विचार व्यक्त गर्नुभयो।
कार्यक्रममा नेपाल पत्रकार महासंघ नवलपरासीका अध्यक्ष केशव पराजुली, पुस्तक व्यवसायी गोपाल बस्याल,पुस्तक व्यवसाय संघका केन्द्रीय अध्यक्ष हरि प्रसाद अर्याल र जिसन नवलपरासीका उपाध्यक्ष संजय ढुंगाना लगायतले शुभकामना सहितको आफ्नो धारणा राख्नुभएको थियो।
२०५९ सालमा स्थापना भएको जिसन पश्चिम नवलपरासीमा हाल ३४ को सङ्ख्यामा संस्थागत विद्यालयहरुको आबद्धता रहेको आयोजकले बताएको छ।

कार्यक्रममा २०८०/०८१ को शैक्षिकसत्रमा जिसन आबद्ध विद्यालयहरुबाट उत्कृष्ट अंक ल्याएका छात्र वसन्त ढकाल र छात्रा रश्मी ओलीलाई कदरपत्र सहित सम्मान गरिएको जिसनले जानकारी दिएको छ।
कार्यक्रममा जिसन आबद्ध विद्यालयका प्र.अ.,पुस्तक व्यवसायी तथा एक दर्जन सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

