Rashtriya Dainik

“बर्दघाटमा विद्यार्थी र कमजोर वर्गका लागि विशेष राहत: १० लाख कोष र निशुल्क स्वास्थ्य सेवा”

राष्ट्रिय दैनिक / नवलपरासी ,२२ साउन

पश्चिम नवलपरासीकाे बर्दघाट नगरपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीहरूको सुरक्षालाई ध्यानमा राख्दै ऐतिहासिक कदम चालेको छ। नगरपालिकाले ‘विद्यार्थी राहत कोष’ स्थापना गरेको छ । आर्थिक वर्ष २०८२ र ८३ को नगर बजेटमा रु १० लाख विनियोजन गरिएको छ। यस कोषमार्फत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई दुर्घटनामा परेमा उपचारका लागि रु १ लाखसम्मको राहत उपलब्ध गराइने छ।

नगरप्रमुख शम्भुलाल श्रेष्ठले यस कदमलाई विद्यार्थीहरूको सुरक्षामा ठूलो सुधारको रुपमा चिन्छन्। “सामुदायिक विद्यालयहरू सबै दृष्टिकोणले सुरक्षित छन्। यस राहत कोषले विपन्न परिवारका विद्यार्थीहरूलाई ठूलो मद्दत पुर्‍याउने छ, र विद्यालयप्रति अभिभावकहरूको विश्वास पनि बलियो बनाउने छ,” उनले भने।

यस पहलसँगै नगरपालिकाले सामाजिक सुरक्षा सञ्जालमा रहेका सबै नागरिकहरूको भलाइका लागि अन्य कार्यक्रमहरू पनि अघि सारेको छ। नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरू, जेष्ठ नागरिक र अति विपन्न नागरिकहरूका लागि रु १५ लाखको बजेट विनियोजन गर्दै चिसापानी अस्पताल र शहीद स्मृति सामुदायिक अस्पतालमा निशुल्क स्वास्थ्य परिक्षण र ल्याब परीक्षण सेवाको व्यवस्था गरेको छ।

साथै नगरपालिकाले मोतियाबिन्दु पीडित नागरिकहरूको उपचारको लागि पनि विशेष व्यवस्था गरेको छ। विनोद–निता कँडेल आँखा अस्पतालमा शल्यक्रिया निःशुल्क गरिनेछ, जसका लागि रु ५ लाख विनियोजन गरिएको छ।

नगरप्रमुख श्रेष्ठले भने, “यो पहल विशेष गरी जेष्ठ नागरिकहरूको लागि महत्वपूर्ण छ, जसले स्वास्थ्य सेवा नपाइरहेका थिए। अब उनीहरूको जीवनस्तरमा सुधार आउनेछ।”

बर्दघाट नगरपालिकाले सुरु गरेका यी कदमहरूले प्रदेशभरिका अन्य नगरपालिकाहरूलाई पनि उदाहरण प्रस्तुत गरेको छ र सामुदायिक सेवा र सुरक्षा प्रणालीमा सकारात्मक परिवर्तनको दिशा देखाएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित