आरपी उपध्याय / नवलपरासी १६ साउन
पुर्वी नवलपरासी विनयी त्रिवेणी ७ मा आयोजित एक कार्यक्रममा जिज्ञासा राख्ने नागरिकहरुले त्रिवेणी क्षेत्रमा हुने सुरक्षा चुनौती र समाधानबारे सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन।
उनीहरुले गण्डक ब्यारेज नाका र आसपासका इलाकाबाट लागू औषध ओसारपसार र प्रयोग गर्ने कार्य पुर्ण रुपमा नियन्त्रण गर्ने तथा मन्दिर आसपासको इलाका पुर्ण सफाइ गर्नुपर्ने का साथै त्रिवेणी क्षेत्रका केही होटलहरुमा बढ्दो अवैध क्रियाकलाप नियन्त्रण गर्नुपर्ने र शान्ति,सुरक्षा कार्यलाई अझ बढी भरपर्दो र विश्वासनीय रुपमा लागू गर्नुपर्ने सुझाव दिएका थिए।
जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीको आयोजनामा त्रिवेणीको शिवपुरगढीमा सम्पन्न नागरिक सुनवाइ कार्यक्रममा सुझाव दिने सहभागीहरुले उक्त धारणा राखेका हुन।
विनयी त्रिवेणी वडा न.६ र ७ का नागरिकहरुले राज्यले दिने सेवा सुविधालाई लामो दुरी पार गरि कावासोती जानुपर्ने बाध्यताको अन्त्य गरि सरल र सुलभ ढङ्गले नागरिकले राज्य प्रदत्त अधिकार पाउनुपर्ने सुझाव दिए।
त्रिवेणी क्षेत्रमा मौलाएको अवैध गतिविधि रोकथाम गर्न होटल व्यवसायमा हुने गैरकानुनी कार्य नियन्त्रण गरिनुका साथै ट्राफिक चेकजाँच सहित लागू पदार्थ सेवन र मादक पदार्थ सेवन चेकजाँच कार्य पनि त्रैमासिक रुपमै गर्नको लागि जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेका थिए।
पुर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी भबिश्वर पाण्डेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमका प्रमुख अतिथि विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीले मालपोत कार्यालय लगायत केही सरकारी कार्यालयहरुमा अनियमितता बढेको प्रती आफू गम्भीर रहेको बताउदै त्यस्ता कार्य तत्काल रोक्नको लागि जिल्ला प्रशासनलाई अनुरोध गर्दै पालिका सरकार जनताको चाहना अनुसार अगाडि बढिरहेको जिकिर पनि गर्नुभयो।
कार्यक्रमका अध्यक्षता गर्नुभएका प्रमुख जिल्ला अधिकारी पाण्डेले नागरिक सुनुवाइ कार्यक्रममा आएका प्रहरी प्रतिको गुनासोलाई समयमै समाधान गरिने बताउदै जनप्रतिनिधि,नागरिक समाज,जिल्ला प्रशासनको सामुहिक प्रयासबाट नै सबै समस्याको समाधान गरिने विचार व्यक्त गर्नुभयो।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव प्रसाद ढकालले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै जिल्ला अन्तर्गत भएका मुद्दा दर्ताको अवस्था र शान्ति सुरक्षा संग सम्बन्धित नागरिकले उठाएका जिज्ञासालाई सम्बोधन गरिने पनि धारणा राख्नुभएको थियो।
कार्यक्रममा त्रिवेणी भन्सार प्रमुख रामराज प्रसाद चौरासीया लगायतले नागरिक सुनुवाइ कार्यक्रममा उठेको प्रश्नको जवाफ दिनुभयो।
कार्यक्रममा डेढ दर्जन नागरिकहरुले आफ्नो भनाइ सहितको जिज्ञासा राख्नुभएको कार्यक्रम सञ्चालक ई.प्र.का. दुम्किबासका प्रहरी निरीक्षक राजन तिमिल्सिनाले जानकारी दिनुभएको छ।
त्रिवेणी क्षेत्रमा भएको नागरिक सुनुवाइ कार्यक्रम पहिलोपटक भएको र यसबाट सेवा प्रदाय र सेवाग्राहीबिचको खाडल केही हदसम्म पुरिएको पनि नागरिकहरुले प्रतिक्रिया दिएका छन।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

