काठमाडौं, १२ साउन
स्वास्थ्य सेवा विभागले देशका सबै सात प्रदेशमा रेबिजविरुद्धको खोप र सर्पदंश उपचारमा प्रयोग हुने औषधिको आपूर्ति पूरा गरेको छ। यसअघि औषधिको अभावको खबर आएपछि, स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको निर्देशनमा विभागले औषधि आपूर्तिको गति तीव्र बनाउँदै सबै प्रदेशमा आवश्यक आपूर्ति गरेको हो।
स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखा प्रमुख डा. पवनजंग रायमाझीका अनुसार, रेबिज र सर्पदंश उपचारमा प्रयोग हुने खोप र औषधिहरू प्रदेश सरकारको स्वास्थ्य संस्थामा वितरण गरिने गरी आपूर्ति केन्द्रहरूमा पुगिसकेको छ। विभागको तथ्यांक अनुसार, रेबिजविरुद्धको ५१ हजार १८० डोज खोप विभिन्न प्रदेशहरूमा पठाइएको छ।
सबैभन्दा बढी खोप बागमती प्रदेशमा आपूर्ति गरिएको छ। बागमतीमा १० हजार ८० भायल रेबिज खोप र १,००० खोप सर्पदंशविरुद्ध पठाइएको छ। त्यसैगरी, सर्पदंशका समस्या बढी हुने मधेश प्रदेशमा २,५०० डोज सर्पदंशविरुद्धको भेनम खोप र करिब ५,००० डोज रेबिज खोप पठाइएको छ।
विभागका प्रवक्ता डा. प्रकाश बुढाथोकीले भने, “माग अनुसार अन्य प्रदेशहरूमा पनि खोप र औषधि आपूर्ति गरिएको छ र भविष्यमा थप आपूर्ति सुनिश्चित गर्नका लागि अतिरिक्त व्यवस्था मिलाइएको छ।”
विभागले आगामी दुई महिनामा हालको आपूर्तिको चार गुणा बढी खोप र औषधिको आपूर्ति गर्ने योजना बनाएको छ। यसले विभिन्न स्थानहरूमा रेबिज र सर्पदंशका बिरामीहरूको उपचारमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

