Rashtriya Dainik

“परम्पराले बोलायो पानी: सरावलका जनप्रतिनिधिलाई नुहाइदिएपछि सुरु भयो वर्षा”

उमेश बि.क / नवलपरासी ,९ साउन

रुपन्देही , नवलपरासी र कपिलवस्तु लगाएत तराईको जिल्लामा उधुमै गर्मी बढेको छ। वर्षे झरी पर्ने बेला यी जिल्लामा पानी नपरेर खडेरी परेको छ। साउन लागी सक्दा पनि पानी नपर्दा केही किसानले रोपाइँ गर्न पाएका छैनन्।

पानीको जुगाड गरेर जसोतसो धान रोपेका किसानलाई पनि खडेरीले पुर्पुरो समाउने बनाएको छ। धान रोपेको खेतमा धाँजा फाटेको छ। रोपो सुकेर पहेँलै भएको छ।

चर्को खडेरीले आत्तिएका नवलपरासीका किसानहरु अहिले पानी पार्ने जुक्ति खोज्न थालेका छन्। शुक्रबार उनीहरुले पानी पर्ने विश्वासका साथ जनप्रतिनिधिहरुलाई नै मन्दिर लगी पूजा गरेर पानी पारिदिन भन्दै सहकालका देवता इन्द्रको पुजा गरेका हुन्। लामो समयसम्म खडेरी परेपछि किसानहरुले जनप्रतिनिधिहरुलाई बाँधेर मन्दिर लगी पूजा गर्दै पानी र हिलोले छ्यापेर पानी मागेका हुन्।

विशेष गरी तराइका केही जिल्लामा लामो खडेरी परे वर्षा र सहकालका देवता इन्द्रको पूजा गर्ने चलन छ। सो क्रममा गाँउका अगुवाहरुलाई बाँधेर मन्दिरमा लगी तीनलाई पानी र हिलोले छ्यापेर पानी माग्ने चलन रहेको नवलपरासीको सरावल गाँउपालिकाका अध्यक्ष सुखाडीप्रसाद चौधरीले बताए।

चौधरीले शुक्रबार आफ्नो गाँउका किसानले पनि जनप्रतिनिधिलाई नै अगुवा मानेर मन्दिर लगी इन्द्रको पुजा गरेर पानी मागेको बताए। अध्यक्ष चौधरीसहित उपाध्यक्ष बासमती हरिजन, वडा नम्बर ३ का वडा अध्यक्ष फिरंगी चाैधरी , कार्यपालिका सदस्य रामानन्द हरिजन लगायतका जनप्रतिनिधिहरुलाई बाँधेर मन्दिर पुर्याएका थिए।

गाँउका अगुवालाइ मन्दिर पुर्याउँदासम्म कपडाको चुन्नीले सामान्य तरिकाले बाँधिएको थियो। तीन दिनदेखि मन्दिरमा वर्षा र सहकालका देवता इन्द्रको पूजा अर्चना भइरहेको र शुक्रबार अन्तिम दिन जनप्रतिनिधिलाई नै गाँउका अगुवा मानेर पुजा गर्न बाँधेर लगिएको स्थानीयले बताएका हुन्।

पहिले पहिले गाँउका अगुवालाई यसैगरी बाधेर मन्दिर लैजाने तीनलाई पानी र हिलो छ्याप्ने र तीनले फेरी इन्द्रको पूजा गर्ने चलन थियो। त्यती गरेपछि इन्द्र भगवान खुसी भएर पानी पारिदिन्छन् भन्ने जनविश्वास रहेको अध्यक्ष चौधरीले बताए। सोही धार्मिक जनविश्वासका साथ जिल्लाका विभिन्न गाँउमा अहिले इन्द्रको क्षमापूजा भइरहेको उनले बताए।

जनप्रतिनिधिहरुलाई स्थानीय महिलाहरूले पानीले नुहाइदिएको केही समयपछि जिल्लाका विभिन्न भागमा वर्षा शुरू भएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित