Rashtriya Dainik

“पानीको संकट: देवगावका महिलाले भगवानको लिलासहित चन्दा संकलन गर्दै वर्षाको प्रार्थना”

उमेश कि.क / नवलपरासी ,८ साउन

पानीको अभावले स्थानीयवासीहरूलाई गम्भीर समस्यामा पारिरहेको बेला पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर १७, देवगावका महिलाहरूले भगवानको लिला गर्दै पानीको माग गर्ने अनौठो तरिका अपनाएका छन्। चार पाँच दिनदेखि स्थानीय महिलाहरू विभिन्न टाेलमा पुग्दै चन्दा संकलन गर्दै भगवानसंग वर्षाको प्रार्थना गर्दैछन्।

स्थानीयवासी अनुसार पानीको कमीले जनजीवनमा गम्भीर प्रभाव पारेको छ। निर्मला हरिजनले भनिन्, “पानी नपरेपछि, हामी केवल भगवानलाई पुकार्दै छाैँ। काेहि पुलिस, काेहि चाैकीदार बनी पानी मागिरहेका छौँ। हामीलाई आशा छ कि भगवानको कृपाले छिट्टै पानी आउनेछ।”

जानकी कलवारले पनि यसबारेमा आफ्नो चिन्ता व्यक्त गर्दै भनिन्, “चर्को घाम र पानीको अभावले हाम्रो दैनिक जीवन निकै प्रभावित भएको छ। हामी बस्नसमेत गाह्रो भइरहेको छ। यस अवस्थामा, पूजा र चन्दा संकलन गर्ने बाहेक अरू कुनै उपाय देखिदैन।”

उक्त समुदायका महिलाहरूले पानीको संकटलाई समाधान गर्न भगवानलाई प्रसन्न बनाउनका लागि एक अनौठो प्रयास अघि बढाएका छन्। उनीहरूले चन्दा संकलन गरेर पूजा प्रार्थना गर्दै पानीको प्रार्थना गरिरहेका छन्। यसको उद्देश्य भनेको केवल चन्दा संकलन मात्र होइन, जनतालाई पानीको संकट प्रति सचेत पार्नु र समुदायको एकतामा जोड दिनु पनि हो।

स्थानीय व्यक्तिहरूले यस प्रयासलाई स्वागत गर्दै यसलाई समस्या समाधानको एक अनौठो र रचनात्मक तरिका मानिरहेका छन्। “हामी सबैसँग भगवानको कृपाले मात्र समस्याको समाधान होला भन्ने विश्वास छ,” एक स्थानीय महिला रञ्जना चाैधरीले भनिन्।

यस घटनाले स्थानीय समुदायको परिपक्वता र संकटको अवस्थामा अनौठो उपायहरू खोज्ने क्षमतामा उजागर गरेको छ। साथै यसबाट पानीको अभावका कारण स्थानीयहरूको जीवन कति कठिन भइरहेको छ भन्ने कुरामा पनि थप ध्यान आकर्षित भएको छ।

स्थानीय ब्यक्तिहरुले यस बिषयमा गम्भीरता अपनाउँदै जल संकट समाधानको लागि योजना बनाउन आवश्यकतामा जोड दिएका छन्। स्थानीय निकाय र जल विभागले छिट्टै समाधानको उपाय निकालनुपर्ने बताइएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित