राष्ट्रिय दैनिक / नवलपरासी ,८ साउन
बर्दघाट नगरपालिका वडा नं. १ स्थित बाल्मीकि माध्यमिक विद्यालयले नगरमा पहिलो पटक समावेशी शिक्षा सुरु गरेको छ, जसले अपाङ्गता भएका बालबालिकालाई गुणस्तरीय शिक्षा प्राप्त गर्नका लागि नयाँ मार्ग खोल्ने काम गरेको छ।
सहयात्री नेपालसँगको समन्वयमा, बाल्मीकि विद्यालयले २७ जना अपाङ्गता भएका बालबालिकालाई समावेशी शिक्षा प्रदान गर्ने कार्यक्रमको थालनी गरेको हो।

विद्यालयकी प्रधानाध्यापक रामकुमारी पाध्यायका अनुसार, शारीरिक, मानसिक, दृष्टिसम्बन्धी र श्रवणशक्ति नभएका बालबालिकाका लागि विशेष कक्षाको व्यवस्था गरिएको छ। यसका साथै, तालिम प्राप्त शिक्षकद्वारा शिक्षा दिइने र विशेष शिक्षकद्वारा बालबालिकाका आवश्यकता अनुरूपका कक्षाहरू सञ्चालन गरिनेछन्।
कार्यक्रमको उद्घाटन नगर प्रमुख सम्भुलाल श्रेष्ठ र उपप्रमुख रुद्रप्रकाश उपाध्यायको उपस्थितिमा भएको थियो।
नगर प्रमुख श्रेष्ठले नगरका सबै प्रकृतिका बालबालिकाहरु शिक्षाबाट बञ्चीत नहुन भन्ने उद्धेश्य सहित नगर अघि बढेको बताउनु भयो ।सबै कुरा स्थानीय सरकारले मात्रै गर्छ भन्ने भन्दा पनि सबैको हातेमालो बाट नै सकारात्मक कामको सुरुवात हुने र त्यसले नतिजा पनि सकारात्मक दिने नगर प्रमुख श्रेष्ठले बताउनु भयो ।
अपाङ्गता भएका बालबालिकाहरुको लागि नगरले भौतिक संरचना सहितको लगानी गरेर सहयात्री नेपालसंग सहकार्य गर्दै अघि बढेको बताउनु भयो । नगर प्रमुख श्रेष्ठले नगरका सबै बालबालिकाले शिक्षा प्राप्त गर्न पाउनु पर्ने हाम्रो मुख्य उद्देश्य हो। यस प्रगतिशील कदमले अन्य नगरपालिकाहरुलाई पनि प्रेरित गर्ने विश्वास ब्यक्त गर्नुभयो।
सहयात्री नेपालका अध्यक्ष तिल कुमारी श्रेष्ठले कार्यक्रमको उद्घाटन समारोहमा समावेशी शिक्षा र अपाङ्गता भएका बालबालिकाको अधिकारका बारेमा आफ्नो भनाइ राख्दै भनिन्, “समाजका सबै वर्गका बालबालिकाहरूलाई समान अवसर दिनका लागि स्थानिय तहको योगदान महत्त्वपूर्ण छ। यस कार्यमा यदि स्थानिय सरकार र समुदायको सहकार्य सँगै अघि बढे भने, हामी कोही पनि शिक्षा बाट बञ्चित हुन दिदैनौं।”
समावेशी शिक्षाले अपाङ्गता भएका बालबालिकालाई पनि समाजको मुख्यधारा शिक्षा प्रणालीसँग जोड्ने अवसर प्रदान गर्दछ। यसले यिनका लागि व्यक्तिगत र सामाजिक विकासको मार्ग प्रशस्त गर्छ भने, समाजमा समानता र समावेशिता ल्याउने दिशामा ठूलो प्रभाव पार्न सक्छ।
अन्त्यमा, उपप्रमुख रुद्रप्रकाश उपाध्यायले सहयात्री नेपालको योगदानको सराहना गर्दै भने, “अपाङ्गता भएका बालबालिकाका लागि यो कार्यक्रम भविष्य उज्जवल बनाउने मार्गप्रदर्शक साबित हुनेछ।”
यस प्रकारको पहलले न केवल अपाङ्गता भएका बालबालिकाको भविष्य उज्जवल बनाउँछ, तर समग्र समाजलाई शिक्षाका क्षेत्रमा समानता र समावेशीताको महत्त्वको बारेमा जागरूक बनाउँछ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

