उमेश बि.क /नवलपरासी ,८ साउन
कृषि प्रधान देश नेपालमा, जहाँ कृषकहरू देशको समृद्धिमा ठूलो भूमिका खेल्छन्, त्यहींका किसानहरू अहिले युरिया मलको अभाव र अत्यधिक मूल्यवृद्धिको समस्या भोगिरहेका छन्।
नेपाल सरकारले अनुदानमा वितरण गर्ने युरिया मल पर्याप्त मात्रामा उपलब्ध नहुँदा, किसानहरू भारतीय युरिया मल किन्न बाध्य भएका छन्, र त्यसका लागि उनीहरूले बजार मूल्यभन्दा दोब्बर मूल्य तिर्नु परेको छ।

नेपाली किसानहरूको लागि धान रोपाईका समयमा युरिया मल अत्यन्त महत्वपूर्ण हुन्छ। यो मल समयमै नपाउँदा कृषकहरूको उत्पादनमा प्रत्यक्ष असर पर्न सक्छ। विशेष गरी, पश्चिम नवलपरासीका कृषकहरूले युरिया मलको अभावका कारण ठूलो कठिनाई भोगिरहेका छन्।
सहकारीहरूमा मलको आपूर्ति निकै सीमित छ, र बिहानदेखि साँझसम्म लाइनमा बस्दा पनि मल पाइँदैन।
किसान जित बहादुर चौधरीका अनुसार, “धान रोपाइँ गरिसकेपछि १५ देखि २० दिनभित्र युरिया मल छर्नु अत्यन्त आवश्यक छ। तर सरकारबाट दिइने मल समयमा र पर्याप्त मात्रामा आउँदैन। यसले हामीलाई अत्यधिक समस्यामा पारेको छ।”
अर्का किसान राम हरिजनले भने, “नेपाल सरकारले मल उपलब्ध गराउन सकेन भने, भारतीय सरकारसँग सम्झौता गरेर भारतीय मल सहज रुपमा ल्याउन पहल गर्नु पर्छ। अहिले त व्यापारीहरूले मलको मूल्य दोब्बर गरि बेचिरहेका छन्, जसले हामीलाई सिधा आर्थिक रूपमा असर पुर्याउँछ।”

कृषकहरूका अनुसार, भारतमा युरिया मलको मूल्य ८ सय रुपियाँ छ, तर नेपालमा त्यसको मूल्य २ हजार रुपियाँसम्म पुगेको छ। यस्तो अवस्था नेपालका किसानहरूको लागि अत्यधिक कष्टकर बनिरहेको छ, जहाँ उनीहरूले आफ्ना बचत खर्च गरेर पनि मलको अभावलाई पूरा गर्न सकिरहेका छैनन्।
यस समस्याले कृषकहरूको आर्थिक अवस्थालाई चुनौती दिएको छ। अबको केही दिनमा यदि युरिया मल छर्ने काम सम्पन्न गर्न सकिएन भने, उत्पादनमा ठूलो गिरावट आउने निश्चित छ। किसान श्याम थारुले भने, “यदी मल समयमा उपलब्ध भएन भने, उत्पादन घट्नेछ र यसले हाम्रो भविष्यलाई अन्धकार बनाउन सक्छ।”
नेपालमा कृषि क्षेत्रलाई अझ प्रगति र आत्मनिर्भर बनाउनका लागि यस्ता समस्याहरूको समाधान खोज्नु अत्यावश्यक बनिसकेको छ। सरकारलाई यस विषयमा तत्परता देखाउन र कृषकहरूको दुःख दर्दलाई बुझ्न जरुरी छ। यदि समयमै युरिया मल र अन्य कृषि सामग्रीको आपूर्ति ठीक भएन भने, कृषकहरूको आर्थिक विकासको मार्ग अझ कठिन हुनेछ।
किसानहरूको मुहारमा देखिएको यो चिन्ता र समस्या समाधान गर्न सरकार र निजी क्षेत्र मिलेर प्रभावकारी कदम उठाउनुपर्ने आवश्यकता छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

