आरपि उपाध्याय / नवलपरासी ,७ साउन
पुर्वी नवलपरासीको कावासोतीमा नेपाली काङ्ग्रेसका संस्थापक नेता जन नायक बि.पि. कोइरालाको ४३ औं स्मृति दिवस एक कार्यक्रमका बिच सम्पन्न भएको छ।
नेपाली काङ्ग्रेस नवलपुरको आयोजनामा वर्तमान समयमा “बि.पि. को विचार विषयक” अन्तरक्रिया सहितको कार्यक्रम मनाइएको हो।
सो अवसरमा नेपाली काङ्ग्रेसका केन्द्रीय सहमहामन्त्री एवं नेपाल सरकारका पर्यटन संस्कृति तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले नेपाली काङ्ग्रेसका संस्थापक नेता महामानव बि.पि. कोइरालाको विधि पद्धतिबाट पार्टी चलायमान हुँदा बढी लोकतान्त्रिक हुने बताउनु भयो।

मन्त्री पाण्डेले बि.पि. कोइरालाको भनाइलाई स्मरण गर्दै एउटा किसानको छोराले अवसर पाउने हो भने उसले राम्रो नतिजा प्राप्त गर्न सक्ने धारणा राख्दै नेपाली काङ्ग्रेसको समाजवाद भनेको गाउँ, झोपडी,बस्तीसम्म आर्थिक अनुशासन कायम गरिनुपर्ने जिकिर गर्नुभयो।
नेपाली काङ्ग्रेसमा मौलाएको बेथितिलाई समाप्त पारी पुराना र दु:ख पाएका नेता र कार्यकर्तालाई अवसर दिनुपर्ने पनि धारणा राख्दै मन्त्री पाण्डेले विश्वेश्वरप्रसाद कोइराला राजनीति र साहित्यलाई एकैसाथ अगाडि बढाउदै जाने सोच भएको अन्तर्राष्ट्रिय व्यक्तित्व रहेको बताउनु भएको थियो।
विचार गोष्ठीमा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य मिन विश्वकर्माले नेपाली काङ्ग्रेसको कार्यक्रममा युवा पुस्ताको पातलो उपस्थिति हुनुको पछाडि जानकारी र सुचनाको कमी भएको बारे जिल्ला,क्षेत्र,पालिका र वडा तहका नेताहरु बढी गम्भीर हुनुपर्ने सुझाव दिनुभयो।
नेपाली काङ्ग्रेसको कार्यक्रममा युवा पुस्ताको सहभागीताबारे बि.पि.ले देखाउनु भएको बाटो नै उत्तम रहेको स्मरण गर्दै वर्तमानका युवा शक्ति भविष्यमा नेतृत्व गर्ने ठाउँमा पुग्ने क्षमताको विकास गर्नुपर्ने धारणा राख्नुभयो।
कार्यक्रममा प्रमुख वक्ता समेत रहनु भएका प्रमोद हरि गुरागाईले नेपाली काङ्ग्रेस पार्टी भित्रको आन्तरिक प्रतिस्पर्धालाई लोकतान्त्रिक प्रतिस्पर्धाको रूपमा मनन गर्नुपर्ने धारणा राख्दै कसैले बढी अवसर पाउने,कसैले अवसर नै नपाउने प्रथाको अन्त्य गर्दै अवसर नपाएकाहरुले अवसर पाउनु पनि बि.पि. को विचार सहितको सन्देश रहेको बताउदै बि.पि. ले व्यक्त गर्नुभएका आदर्श वाक्य “मानिस ठुलो होइन असल हुनुपर्ने” भनाइले उहाँ महानताको शिखरमा पुगेको लोकप्रिय नेता रहेको उल्लेख गर्दै नेपाली काङ्ग्रेसका नेताकार्यकर्ताहरु गुट,उपगुट बाट मुक्त भएर निष्ठा र इमानदार भइ अगाडि बढ्नुपर्ने जिकिर गर्नुभयो।
कार्यक्रममा नेपाली काङ्ग्रेस नवलपुरका सभापति महेन्द्र ध्वज जि.सी. ले कार्यक्रमको उद्देश्य सहित विषयवस्तुबारे जानकारी गराउनु भएको थियो।
सो अवसरमा आदिवासी जनजाती महासंघका केन्द्रीय सदस्य ओम थापा,काङ्ग्रेस गण्ड्की प्रदेश महामन्त्री बिष्णु प्रसाद लामीक्षाने, नेपाल महिला संघकी जिल्ला अध्यक्ष सरस्वती तिमिल्सिना,गण्डकी प्रदेशकी पुर्व सांसद ओमकला गौतम, जिल्ला उपसभापति चन्द्र बहादुर राना लगायतले जननायक बि.पि. कोइरालाको बहुआयामिक जीवनीबारे प्रकाश पार्नुभएको थियो।
अन्तरक्रिया कार्यक्रममा महाअधिवेशन प्रतिनिधि झपेन्द्रेश्वर भुसालले वर्तमान समयमा बि.पि.को विचार नामक तयार पारिएको कार्य पत्र वाचन गर्नुभयो।

कार्यक्रममा महासमिति सदस्य, महाअधिवेशन प्रतिनिधि,जिल्ला,क्षेत्र, पालिका प्रतिनिधि र भातृ तथा शुभेच्छुक प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो।
बि.पि. स्मृती दिवसकै अवसरमा प्रजातन्त्र सेनानी संघ नवलपुरको आयोजनामा कुमारवर्ती बहुमुखी क्याम्पस कावासोतीको प्राङ्गणमा विभिन्न जातका २ सय बिरुवा वृक्षारोपण गरिएको थियो।
ऋषिराम सापकोटाको अध्यक्षतामा पर्यटन संस्कृति तथा नागरिक उड्डयन मन्त्री एवं नेपाली काङ्ग्रेसका केन्द्रीय सहमहामन्त्री बद्री पाण्डेको प्रमुख आतिथ्यतामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको आयोजकले जानकारी दिएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

