एजेन्सी: कार्यकाल सकिन २ वर्ष बाँकी रहँदै भारतका उपराष्ट्रपति जगदीप धनखडले पदबाट राजीनामा दिएका छन् । स्वास्थ्यको कारण देखाउँदै उपराष्ट्रपति धनखडले सोमबार राष्ट्रपति द्रौपदी मुर्मुसमक्ष राजीनामा दिएका हुन् ।
सञ्चारमाध्यमका अनुसार ७४ वर्षीय धनखडको कार्यकाल १० अगस्ट २०२७ सम्म थियो। उनले संविधानको धारा ६७ (क) को आधारमा राजीनामा घोषणा गरेका हुन्।
‘स्वास्थ्यको प्राथमिकता र चिकित्सकको सल्लाह पालना गर्दै मैले भारतको उपराष्ट्रपति पदबाट तत्काल लागू हुने गरी राजीनामा दिएको छु ।’ राजीनामा पत्रमा उनले लेखेका छन्, ‘संसद्का सबै माननीय सदस्यहरूबाट मैले पाएको स्नेह, विश्वास र सम्मान मेरो जीवनभर मेरो हृदयमा रहनेछ। यस महत्वपूर्ण अवधिमा भारतको उल्लेखनीय आर्थिक प्रगति र अभूतपूर्व घातीय विकासको साक्षी हुनु र यसमा भाग लिनु मेरो लागि सौभाग्य र सन्तुष्टि हो। हाम्रो राष्ट्रको इतिहासको यस परिवर्तनकारी युगमा सेवा गर्नु साँचो सम्मान हो। यो सम्मानित पद छोड्दै गर्दा, म भारतको विश्वव्यापी उदय र असाधारण उपलब्धिहरूमा गर्वले भरिएको छु र यसको उज्ज्वल भविष्यमा अटल विश्वास राख्छु।’
उनले राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रिपरिषद्लाई सहयोग र सौहार्दपूर्ण सम्बन्धको लागि धन्यवाद भनेका छन्।
धनखडले ११ अगस्ट २०२२ मा उपराष्ट्रपतिको रूपमा शपथ लिएका थिए । उनले उपराष्ट्रपति चुनावमा विपक्षी उम्मेदवार मार्गरेट अल्वालाई पराजित गरेका थिए। भारतमा अहिले संसद्को मनसुन अधिवेशन हाल चलिरहेको छ। भारतमा उपराष्ट्रपति राज्यसभाका अध्यक्ष हुने व्यवस्था छ। राष्ट्रपतिको स्वीकृतिपछि मात्र उनको राजीनामा लागू हुनेछ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

