उमेश बि.क / नवलपरासी ,२ साउन
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका चार नम्बर वडाले पहिलोपटक आफ्नो स्थापना दिवस मनाएको छ। वडा अध्यक्ष मदन यादव आठ वर्षको कार्यकाल पूरा भएपछि उक्त दिवस मनाइएको हो।

रामग्राम-४ का वडा अध्यक्ष मदन यादवको अध्यक्षता तथा पूर्वमन्त्री रामवचन यादवकाे प्रमुख आतिथ्यतामा वडाकाे प्रथम स्थापना दिवस तथा खानेपानी समुदघाटन समाराेह सम्पन्न भएको हाे।

बिहीबार साँझ बैरिहवास्थित वडा कार्यालय परिसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै पूर्वमन्त्री रामवचन यादवले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि नेपालमा विकासले गति लिएको भए पनि शीर्ष नेताहरूको कार्यशैलीका कारण जनतामा निराशा फैलिएको बताएका छन्। यादवले तीनै तहका सरकारलाई कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन जोड दिए।

उक्त समारोहमा विभिन्न क्षेत्रका व्यक्तिहरूलाई सम्मानित गरिएको थियो। शैक्षिक क्षेत्र, सामाजिक कार्य र भौतिक निर्माणमा योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मानित गरिएको छ। यस अवसरमा पूर्व वडा अध्यक्ष, निवर्तमान वडा सदस्य, पत्रकार र सामाजिक कार्यकर्ता लगायतलाई सम्मान प्रदान गरिएको वडा सदस्य एवं कार्यक्रम संयोजक प्रभुलाल मौर्यले जानकारी दिए।

कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ कलवार, जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव (रुदल), रामग्राम नगरपालिकाका प्रमुख धनपत यादव, उपप्रमुख सम्झना चौधरी, जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष धरेन्द्र यादव, रामग्राम-१५ का वडा अध्यक्ष धनपत यादव लगायतका नेताहरूले शुभकामना व्यक्त गरे।

साथै उक्त अवसरमा रामग्राम खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको नवनिर्मित भवनको उद्घाटन पनि गरिएको छ। भवनको उद्घाटन नगर प्रमुख धनपत यादवले गरेका छन्। यस संस्थाको अध्यक्ष रामकुण्डल यादवको निधन पछि समिति नेतृत्वविहीन रहेको छ, जसका कारण हाल समितिको नेतृत्वमा परिवर्तनको आवश्यकता महसुस गरिएको छ।

यो दिवस मनाउनु स्थानीय समुदायका लागि मात्र होइन, समग्र नगरको विकासका लागि पनि महत्त्वपूर्ण मानिन्छ।


राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

