उमेश बि.क / नवलपरासी ,२८ असार
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेलले जिल्ला अनुशासन समिति, नवलपरासीद्वारा आफूमाथि गरिएको कारबाहीलाई “विधानविपरीत, अर्थहीन र हास्यास्पद” भन्दै प्रतिक्रिया दिएका छन्।
बिहीबार काङ्ग्रेस नवलपरासीले नेता कँडेललाई पाँच बर्षकाे लागि पार्टीबाट निकालेकाे खबर बाहिर आएको हाे।
कँडेलले कारबाहीको औचित्यमाथि प्रश्न उठाउँदै त्यसलाई राजनीतिक प्रतिशोध र सस्तो लोकप्रियता कमाउने प्रयासको संज्ञा दिएका हुन्।

उनले प्रतिक्रिया दिंदै भने,“जिल्लाले कारबाही गरेर हुने हो भने सभापति शेरबहादुर देउवालाई पनि हटाइहाल्न सक्थे नि। नेता कँडेलले कटाक्ष गर्दै भने, “विधान अनुसार जिल्ला समितिसँग साधारण सदस्यलाई समेत हटाउने अधिकार छैन। प्रमाणसहितको सिफारिस मात्रै गर्न पाइन्छ।”
उनले आफूमाथि गरिएको प्रचारलाई “हास्यास्पद” भन्दै आरोप लगाए कि जिल्लाका केही व्यक्तिहरूले विधान नबुझीकन व्यक्तिगत र गुटगत कारणले कारबाहीको प्रचार गरिरहेका छन्।
यता केही दिनअघि मात्र लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाललाई पार्टी अनुशासन उल्लंघनको आरोपमा एक वर्षका लागि निष्कासित गरिएको थियो। खनाल संस्थापन इतर समूहका नेता हुन्, भने कँडेललाई संस्थापन पक्षका प्रभावशाली नेताका रूपमा लिइन्छ।
गुटगत समीकरणको सन्दर्भमा खनालमाथि कारबाहीपछि संस्थापन पक्षका नेतामाथि पनि कारबाही हुनु, कांग्रेसभित्र गहिरिंदो गुटीय प्रतिस्पर्धा र असन्तुलनको संकेत मानिएको छ।
नेता कँडेलले पार्टी नेतृत्वलाई वास्तविक कारबाही गर्नुपरेमा विधान बमोजिम प्रमाणसहितको प्रक्रिया अवलम्बन गर्न आग्रह गर्दै भने, “अनुशासन समितिको जिम्मेवारी थाहा नपाई गरिएको यस्तो प्रचारले पार्टीभित्रको एकता कमजोर बनाउँछ।”

त्यस्तै नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले केन्द्रीय सदस्य कँडेललाई जिल्ला समितिले प्रतिशोधको भावनाले कारबाही गरेको गलत भएको बताए।
‘जिल्ला समितिले केन्द्रीय सदस्यलाई अहिले जसरी कारबाही गरिएको भनिएको छ यो कारबाहीको प्रक्रिया मिलेको छैन, जिल्लाले निर्वाचनको बेला पार्टी विरूद्ध गतिविधि गर्नेलाई तत्कालको लागि कारबाही गर्न सक्छ र अन्य समयमा अनुशासनको कारबाहीको लागि माथिल्लो कमिटीलाई सिफारिस गर्न सक्छ। जति बेला जसलाई मन लाग्यो, उसलाई कारबाही गर्ने अधिकार विधानले दिएको छैन,’ पुनले भने।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

