Rashtriya Dainik

पश्चिम नवलपरासीको हात्तिवनमा ऐतिहासिक ताजिया मेला सुरु, पूर्व मन्त्री कँडेलले गरे उद्घाटन

उमेश बि.क / नवलपरासी ,२१ असाेज

पश्चिम नवलपरासीको सरावल गाउँपालिका–४ हात्तिवनमा भव्य रूपमा आयोजना गरिएको ऐतिहासिक विशाल ताजिया मेलाको उद्घाटन समारोह सम्पन्न भएको छ।

मेलाको उद्घाटन विशाल ताजिया निर्माण समितिका अध्यक्ष मनोज चौधरीको अध्यक्षता तथा पूर्व गृहराज्यमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कँडेलले ताजिया मेलाले धार्मिक सहिष्णुता, सांस्कृतिक पहिचान र सामाजिक एकतालाई प्रवर्द्धन गर्ने काम गरेको बताए। ताजिया मेलाले विभिन्न धर्म, जात र समुदायबीच सद्भाव र सहकार्यको सेतु निर्माण गर्ने कार्य गरेको उल्लेख गर्दै भने,”धार्मिक आस्थाको सम्मान र सांस्कृतिक सम्पदाको संरक्षण सँगसँगै अघि बढ्नु आजको आवश्यकता हो। यस्तो मेलाले समाजमा सकारात्मक ऊर्जा र एकता फैलाउँछ।”


गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले ताजिया मेला केवल धार्मिक गतिविधिमात्र नभई समृद्ध सांस्कृतिक सम्पदा भएको बताउँदै मेलाको माध्यमबाट स्थानीय पर्यटन र समुदायबीच आपसी सद्भाव बढ्ने विश्वास व्यक्त गरे।

शुभकामना मन्तव्य दिने अन्य विशिष्ट व्यक्तित्वहरूमा गाउँपालिकाकी उपाध्यक्ष बासमती हरिजन, वडा नम्बर ४ का अध्यक्ष सुरेश यादव, नेपाली कांग्रेस सरावलका उपसभापति महेन्द्र चौधरी लगायत मेलाले सामाजिक समावेशिता र धार्मिक सहिष्णुतामा खेल्ने भूमिकालाई मुक्तकण्ठले प्रशंसा गरेका थिए।

कार्यक्रम मेला समितिका सचिव फिरोज खाँको स्वागत मन्तव्यबाट सुरु भएको थियो भने सम्पूर्ण उद्घाटन सत्रको सञ्चालन कमलेश कहाँरले गर्नुभएको थियो।

हजारौँ श्रद्धालुहरूको उपस्थितिमा सम्पन्न हुने ताजिया मेला इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व मुहर्रमसँग सम्बन्धित भए पनि, यो मेलामा हिन्दू, मुसलमान, थारू, आदिवासी, मधेसीलगायत सम्पूर्ण समुदायको समान सहभागिता रहने गर्छ।

ताजिया झाँकी, धार्मिक यात्रा, सांस्कृतिक प्रदर्शनी र परम्परागत प्रस्तुतीहरूले मेलालाई “सांस्कृतिक संगमस्थल” बनाएको छ। मेलाले धार्मिक सहिष्णुता र सामाजिक एकताको सन्देश सशक्त रूपमा फैलाइरहेको छ।


ताजिया मेला केवल धार्मिक उत्सव होइन — यो एक साझा चेतना, समावेशी परम्परा र सांस्कृतिक गौरवको उत्सव हो। सरावलको हात्तिवनमा गुञ्जिएको यो मेला समाजको विविधता, एकता र सहअस्तित्वको उत्कृष्ट उदाहरण बनेर चम्किएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित