अमृता सुनार/नवलपरासी ,असार २०
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले आज पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं ५ मा १ सय ५५ जना अव्यवस्थित बसोबासीलाई जग्गाधनि प्रमाण पूर्जा वितरण गर्नुभएको छ ।
वि.स.२०४४ सालदेखि बसोबास गर्दै आएका अव्यवस्थित बसोबासीले करिब ३८ वर्षपछि जग्गाधनि प्रमाण पूर्जा पाएका हुन् ।

जग्गाधनि प्रमाण पूर्जा वितरण कार्यक्रममा नेपाल सरकार भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले नवलपरासी जिल्लामा मात्र भूमि सगँ सम्बन्धित सम्पूर्ण समस्या समाधान गर्न २० जना कर्मचारी पठाइएको बताउनुभयो । उहाँले समृद्ध नेपाल र सुखी नेपाली निर्माणका लागि भूमि सम्बन्धि समस्याहरु समाधान गर्नुपर्छ भन्ने मुल्य र मान्यताका साथ बाझिएका र अप्ठारा कानुनलाई संसोधन गरिएको समेत बताउनुभयो ।
सुनवल नगरपालिकामा जम्मा फारम भरेको ६ हजार १ सय ५७ जनामा २ सय १२ जना भूमिहिन दलित, ४ सय ३७ जना भूमिहीन सुकुम्बासी र ५ हजार ५ सय ८ जना अव्यवस्थित बसोवासी रहेको सुनवल भूमिशाखा प्रमुख गणेश न्यौपानेले बताउनुभयो ।
जसमध्ये नापनक्सा सम्पन्न भएको जग्गा ५ सय २२ विगाहा १६ कट्ठा २ धुर ,नापनक्सा गरेर सकिएको कित्ता संख्या १ हजार ५ सय २० वटा रहेका छन् । नापीटोलीबाट ७ दिने हकदावी सुचना प्रकाशन गरिएको ३ सय ३ कित्ता, नगरपालिकाबाट सिफारिस भएका २ सय ५७ वटा कित्ता र राजश्व सुचना गरिएको २ सय ५७ वटा रहेका छन् ।

सुनवल नगरपालिकाका नगरप्रमुख बिमला अर्यालले भुमिहिनलाई जग्गा उपलब्ध गराउने सरकारको ३ वर्षे निति अनुसार देशभर कोही पनि भुमिहिन नरहुन भन्ने धारणा अनुसार काम भइरहेको र सोही अनुरुप आज सुनवल नगरपालिका वडा नं ५ मा पुर्जा वितरण गरिएको बताउनुभयो ।
राष्ट्रिय भूमि आयोगका अध्यक्ष हरी प्रसाद रिजालले विगतका आयोगहरु भन्दा यो आयोग अधिकार प्राप्त आयोग रहेको भन्दै तिन बर्षभित्र देशैभरका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित समस्या समाधान हुने बताउनुभयो ।

भूमि समस्या समाधान आयोगका जिल्ला अध्यक्ष लाल बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न जग्गाधनि दर्ता प्रमाणपूर्जा वितरण कार्यक्रममा प्रतिनिधि सभा सदस्य सरिता भूषाल, पूर्व गृह राज्यमन्त्री देवेन्द्रराज कण्डेल, पूर्व लुम्बिनी प्रदेश सदस्य दिपेन्द्र कुमार अधिकारी, जिल्ला समन्वय समिती प्रमुख भगउती यादव, भूमि समस्या समाधान आयोगका सदस्य थानप्रसाद गैरे लगाएतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

