उमेश बि.क / नवलपरासी,२० असाेज
चार वर्षदेखि महेशपुर भन्सार गोदाममा थन्किएको चिनी रमपुरवास्थित झरही खोलानजिक खाल्डो खनेर नष्ट गरिएको एक साता नपुग्दै उक्त चिनी स्थानीयले खनेर निकालेर प्रयोग गर्न थालेका छन्।
प्रत्यक्षदर्शीका अनुसार खाल्डोमा गाडिएको चिनी अहिले मेलामा मिठाइ बनाउन प्रयोग भैरहेको देखिएको छ।
महेशपुर भन्सार कार्यालयले खान अयोग्य भन्दै ६२७ क्विन्टल (२,००० बोरा) चिनी गत साता नष्ट गरेको थियो। तर प्राविधिक मापदण्डबिना खाल्डोमा गाडिएको चिनीमा स्थानीयको पहुँच सहजै पुगेपछि धेरैले बोरा बोरा निकालेर घर लगेका छन्।

सरावल गाउँपालिका–७ भुजहवा, गणेशपुर, र पाल्हिनन्दन गाउँपालिकाका बासिन्दाले खाल्डोबाट चिनी निकालेर घर र पसलमा प्रयोग गरिरहेको प्रत्यक्षदर्शीहरू बताउँछन्। “चिनी गन्हाइसकेको छ, तर निशुल्कमा प्रयोग गर्न खोजिएको छ,” एक स्थानीयले नाम गोप्य राख्दै भने।
प्राप्त जानकारी अनुसार उक्त चिनी अहिले स्थानीय मेलामा बेचिने मिठाइमा प्रयोग हुन थालेको आशंका छ, जसले सयौं सर्वसाधारणको स्वास्थ्य जोखिममा पार्ने सम्भावना बढाएको छ।

स्वास्थ्य तथा खाद्य सुरक्षा विज्ञहरूका अनुसार, लामो समय गोदाममा अव्यवस्थित रूपमा राखिएको र रस बगेको चिनीमा ब्याक्टेरिया, फङ्गस वा रसायनिक प्रदूषणको जोखिम अत्यधिक हुन्छ। यस्तो चिनी प्रयोग गरेर बनाइएको खाद्य वस्तु उपभोग गर्दा फुड पोइजनिङ, डायरिया, पेटसम्बन्धी रोग र दीर्घकालीन स्वास्थ्य समस्या निम्तिन सक्छ।
भन्सार कार्यालयले चिनी नष्ट गर्दा कुनै सुरक्षा घेराबन्दी नगरेको, स्थानीयलाई पूर्वजानकारी नदिएको र नष्ट गरिएका वस्तुमा निगरानी नगरेको स्पष्ट भएको छ। यस्तो लापरबाहीबाट नष्ट गरिएको चिनी अब जनस्वास्थ्यको संकट बन्ने खतरामा छ।
भन्सार कार्यालयका प्रमुख विकास उपाध्याय र नायब सुब्बा लेखनाथ भण्डारीले चिनी नष्ट गरिएको बताए पनि स्थानीयको पहुँच नहुने गरी सुरक्षित रूपमा व्यवस्थापन गरिएको हो या होइन भन्नेमा प्रश्न उठेको छ।

स्थानीय प्रशासन र स्वास्थ्य कार्यालयले तुरुन्त छानबिन गरी बजारमा विक्री भइरहेका मिठाई र चिनीका नमूनाहरू परीक्षण गर्न आवश्यक छ। दोषीमाथि कडा कारबाही गर्नुपर्ने र भविष्यमा यस्ता लापरबाही हुन नदिन स्पष्ट नीति बनाउनु पर्ने आवाज उठिरहेको छ।

यसैबीच नष्ट गरिएको चिनी पुनः प्रयोगमा आउँदा जनस्वास्थ्यमा ठूलो जोखिम देखा परेको विषयमा प्रहरी र प्रशासन किन निष्क्रिय छन् भन्ने प्रश्न उठेको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

