Rashtriya Dainik

छ दिनमै पश्चिम नवलपरासीमा १० हजार हस्ताक्षर : रविप्रति जनविश्वास बलियो हुँदै

उमेश बि.क / नवलपरासी, १९ असार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सरकारले ‘राजनीतिक प्रतिशोध’ गरेको आरोप लगाउँदै रास्वपाले सुरु गरेको हस्ताक्षर अभियान पश्चिम नवलपरासीमा तीव्र गतिमा अघि बढिरहेको छ।

अभियानको छैटौं दिनसम्म परासी, भुमही, ज्यामिरे, भुतहा, बर्दघाट र स्वाठी लगाएत क्षेत्रबाट १० हजारभन्दा बढी नागरिकको हस्ताक्षर संकलन भएको छ।

रास्वपा नवलपरासीका उपसभापति रवि पाण्डेका अनुसार लामिछानेविरुद्ध भइरहेका ‘राजनीतिक नियतमाथि’ नागरिकले स्पष्ट असहमति जनाइरहेका छन्। “सरकारले हाम्रो पार्टी सभापतिमाथि गरेको अन्याय अब जनताले बुझ्न थालिसकेका छन्,” पाण्डेले भने, “जनलहर हाम्रो पक्षमा बढ्दो छ भन्ने यो हस्ताक्षर संख्याले पुष्टि गरेको छ।”

रास्वपाले हालैका दिनहरूमा पार्टी अध्यक्ष लामिछानेमाथि न्यायालय, सरकार र सत्ता पक्षका नेताहरू मिलेर नियोजित आक्रमण गरिरहेको दाबी गर्दै आएको छ। सोही सन्दर्भमा हस्ताक्षर संकलन अभियान सुरु गरिएको हो।

रास्वपा नेतृत्वले यो अभियान नवलपरासीमा मात्र सीमित नराखी देशका अन्य जिल्लाहरूमा पनि विस्तार गर्ने तयारी गरिरहेको जनाएको छ। “यो कुनै एक जिल्लामा सीमित रहने अभियान होइन,” पाण्डेले भने, “जनमतको माध्यमबाट सरकारले गरेको गलत निर्णयको विरुद्ध हामी शान्तिपूर्ण रूपमा आवाज उठाउँदैछौं।”

अभियानमा सहभागी नागरिकहरूले समेत लामिछानेमाथिको पछिल्ला घटनाक्रमप्रति असन्तुष्टि व्यक्त गरेका छन्। उनीहरूका अनुसार लामिछानेमाथि लगाइएका आरोपहरू ‘न्यायको नाममा गरिएको राजनीतिक खेल’ हुन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित