Rashtriya Dainik

सुनवलमा ३३ केभी प्रसारण लाइनको विरोध चर्कियो, स्थानीयद्वारा वडा कार्यालयमा तालाबन्दी

राष्ट्रिय दैनिक / नवलपरासी ,१९ असार

पश्चिम नवलपरासीकाे सुनवल नगरपालिका–८ मा ३३ केभी प्रसारण लाइन विस्तारको योजना विवादमा फसेको छ। प्रस्तावित प्रसारण लाइन बस्तीमाथिबाट लैजाँदा जोखिम हुने भन्दै स्थानीय बासिन्दाले कडा विरोध जनाएका छन्। आन्दोलनरत स्थानीयले मंगलबार वडा कार्यालयमा तालाबन्दी गर्दै काम रोक्न माग गरेका छन्।

सिरानटोलदेखि अरनीटोलसम्म विस्तार हुन लागेको उक्त लाइनले करिब ५ सय परिवारलाई प्रत्यक्ष असर पार्ने संघर्ष समितिको दाबी छ। संघर्ष समिति संयोजक सानुबाबु श्रेष्ठका अनुसार, वर्षौंदेखि वैकल्पिक रुटको माग गर्दा पनि बेवास्ता भएकोले अन्ततः आन्दोलनमा उत्रनु परेको हो। “हामी बल प्रयोगविरुद्ध छौँ, तर जब माग नसुनीन्छ, बाध्य भएर सडकमा आउनुपर्छ,” श्रेष्ठले भने।

स्थानीयले विद्युत् प्राधिकरणमाथि सुरक्षाकर्मीको सहयोगमा जबर्जस्ती निर्माण कार्य अघि बढाउने प्रयास गरेको आरोप लगाएका छन्। उनीहरूको भनाइमा, लाइन बस्तीमाथिबाट जानुले विपन्न वर्ग विशेष जोखिममा पर्नेछ।

तर वडा नम्बर ८ का अध्यक्ष देउबहादुर गुरुङ भने फरक मत राख्छन्। उनका अनुसार, २०७८ सालमै स्थानीयसँग सहमति गरेर प्रसारण लाइन विस्तारको प्रक्रिया अघि बढाइएको थियो। “यो कुनै विशेष प्रकारको लाइन होइन, सामान्य लाइन हो। धेरै दूरी आवश्यक पनि हुँदैन,” गुरुङले बताए।

प्रसारण लाइन विस्तार परियोजनाअन्तर्गत हालसम्म ७५३ पोल राखिने योजना छ, जसमा ६ वटा पोलको मात्र विषयमा विवाद देखिएको वडाध्यक्षको भनाइ छ। विद्युत् प्राधिकरण र जिल्ला प्रशासन मिलेर समाधानको प्रयास भइरहेको उनले जानकारी दिए।

यसैबीच संघर्ष समितिले माग सम्बोधन नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिएको छ। आन्दोलनका कारण प्रसारण लाइनको भविष्य अन्योलमा परेको देखिन्छ भने स्थानीय–प्रशासनबीचको विश्वासमा पनि दरार आएको आभास भइरहेको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित