Rashtriya Dainik

रौतहटमा तीन वर्षपछि ऐतिहासिक जिल्ला सभा सम्पन्न, विभिन्न कार्यविधि र प्रस्तावहरू पारित

राजकुमार यादव / रौतहट, असार १८ ।

रौतहट जिल्लाको ऐतिहासिक जिल्ला सभा जिल्ला समन्वय समितिको आयोजनामा आज सुसम्पन्न भएको छ। सभा जिल्ला समन्वय समिति (जिसस) का प्रमुख राम अयोध्या राय यादवको अध्यक्षतामा सम्पन्न भएको थियो।

सभाका अध्यक्ष यादवले मन्तव्य दिँदै नीति, नियम तथा कार्यक्रम प्रस्तुत गर्न जिल्ला सभाका सचिव एवं जिल्ला समन्वय अधिकारीलाई अनुरोध गर्नुभयो। सोही अनुरूप जिल्ला समन्वय अधिकारी अमित कुमार यादवले नीति तथा कार्यक्रम वाचन गर्दै बैठकका एजेन्डाहरू प्रस्तुत गर्नुभएको थियो।

जिल्ला सभामा प्रस्तुत ७ वटा एजेन्डामाथि उपस्थित नगर प्रमुख र उपप्रमुखहरूले आ–आफ्ना मन्तव्य राख्दै बहुमतले पारित गरेका छन्। छैठौं जिल्ला सभाबाट जिल्लास्तरीय अनुगमन तथा समन्वय सम्बन्धी कार्यविधि २०८२ पारित गरिएको छ। त्यस्तै, नदिजन्य पदार्थ जिल्ला अनुगमन समितिले तयार पारेको “नदिजन्य पदार्थ उत्खनन, सङ्कलन तथा बिक्री वितरण प्रक्रिया सम्बन्धी कार्यविधि २०८२” पनि अनुमोदन गरिएको छ।

सभा मार्फत १८ वटै पालिकाको सहयोगमा जिल्ला समन्वय समितिका लागि एकवटा सवारीसाधन (गाडी) खरिद गर्ने प्रस्ताव पनि बहुमतले स्वीकृत गरिएको छ। साथै, समितिको मौज्दात कोष आगामी आर्थिक वर्ष २०८२/८३ देखि सञ्चालन गर्ने प्रस्ताव र अख्तियारी प्राप्त बजेट शिर्षकअनुसार खर्च गर्न पाउने अनुमोदन पनि भएको छ।

जिल्ला समन्वय समितिले अनुगमनको क्रममा देखिएको अनियमितता तथा कैफियतबारे सम्बन्धित निकायलाई कारवाहीका लागि पत्राचार गर्ने प्रस्ताव पनि बहुमतले पारित गरिएको छ।

सभाका सचिवका अनुसार कानुनतः वर्षमा एकपटक जिल्ला सभा बस्नुपर्ने व्यवस्था भए पनि तीन वर्षपछि मात्र यो जिल्ला सभा सम्पन्न गरिएको जानकारी दिनुभएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित