आरपि उपाध्याय / नवलपरासी ,१८ असार
पश्चिम नवलपरासीकाे सुस्ता गाउँपालिका कृषि विकास शाखाको आयोजनामा बीउ बिजक खुद्रा विक्रेता इजाजत पत्र प्रदान गर्ने तीन दिने तालिम बुधबार सुस्तामा सम्पन्न भएको छ।
कार्यक्रम बीउ बिजक गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवनको समन्वयमा गरिएको हो।
सुस्ता गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।
सो अवसरमा अध्यक्ष उपाध्यायले नेपालका युवायुवती बेरोजगारीका कारण विदेश जाने बाध्यतालाई अन्त्य गर्न तालिम फलदायी रहने विचार व्यक्त गर्दै तालिममा सिकेका उपलब्धिलाई व्यवहारिक जीवनमा लागू गरेर तालिमलाई नतिजामुखी बनाउनु पर्ने कुरामाथी जोड दिनुभयो।

कार्यक्रममा उपाध्यक्ष गीतादेवी चौधरीले तालिमको सीप लागू गर्न सकिए आर्थिक रुपमा सफल बनाउने लक्ष्य रहेकोे विचार व्यक्त गर्दै सीपमूलक तालिमले नै रोजगार सृजना गर्दै त्यसबाट धेरै व्यक्ति लाभान्वित हुने जिकिर गर्नुभयो ।
चौधरीले व्यवसायीहरु आफ्नो व्यवसायलाई दर्ता गर्ने बानीको विकास गर्न पनि तालिमको लक्ष्य रहेको धारणा राख्नुभयो।
कार्यक्रममा सुस्ता गाउँपालिका का प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले बीउ बिजक खरिदबिक्री कार्यक्रमलाई परिणाममुखी बनाउन सहभागीहरुले आफुले सिकेका सीपहरुलाई व्यवहारिक जीवनमा लागू गरिए त्यसको परिणाम नतिजामुखी रहने विचार व्यक्त गर्नुभयो।

प्रमुख प्रशासकीय अधिकृत भुसालले तालिममा सहभागीहरुले पाएको प्रमाणपत्र प्रयोग गरि आयअर्जन गर्नुका साथै अरुलाई पनि तालिमबारे जानकारी गराउन सकिए तालिमको लक्ष्य उपलब्धिमूलक रहने धारणा राख्नुभयो।

समापन समारोहमा सहजकर्ता शालिकराम गौतम र निर्मला खतिवडाले सहजीकरण गर्नुभएको थियो।
सो अवसरमा सहभागीहरु रामचन्द्र भारतीय र प्रतिमा गुप्ताले तालिमबाट प्राप्त अनुभव सुनाउनु भयो।
सुस्ता गाउँपालिका अन्तर्गतका ३० सहभागीहरुको तालिममा सहभागीता रहेको कृषि विकास शाखा प्रमुख अशोक रावलले जानकारी दिनुभएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

