Rashtriya Dainik

ग्रामीण स्वास्थ्य सेवामा सुधार गर्न सरावल–७ मा एम्बुलेन्सको बजेट

उमेश बि.क / नवलपरासी ,१८ असार

ग्रामीण क्षेत्रका जनतालाई सहज र प्रभावकारी स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले पश्चिम नवलपरासीकाे सरावल गाउँपालिका वडा नम्बर ७ मा एम्बुलेन्स खरिदका लागि १२ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। आर्थिक वर्ष २०८२/०८३ का लागि यो बजेट वडास्तरमै छुट्याइएको हो।

वडाध्यक्ष ह्यात खाँ धुनियाका अनुसार गाउँमा आकस्मिक अवस्थाहरूमा स्वास्थ्य संस्था पुग्न कठिन हुने समस्या समाधानका लागि एम्बुलेन्स सेवा आवश्यक भएकोले यो निर्णय लिइएको हो। “हाम्रो वडा ग्रामीण र दूरदराजमा पर्छ। बिरामी परेपछि समयमा उपचार नपाएर ज्यान गुमाउने अवस्था थियो। अब एम्बुलेन्स सेवा सञ्चालन भएपछि त्यसमा राहत मिल्नेछ,” उहाँले बताउनुभयो।

वडाभित्र रहेका स्वास्थ्य चौकीहरूमा उपचार सुविधा भए पनि समयमै बिरामीलाई अस्पताल पुर्‍याउन कठिनाइ हुने गरेको स्थानीयको गुनासो थियो। यस्तै समस्यालाई मध्यनजर गर्दै वडाले यो वर्षको बजेटमा प्राथमिकता दिँदै एम्बुलेन्स खरिदका लागि रकम छुट्याएको हो।

स्थानीय बासिन्दा बिरेन्द्र यादव भन्छन्, “हाम्रो गाउँमा यस्तो सेवा निकै आवश्यक थियो। अब जटिल अवस्थामा बिरामीलाई समयमै अस्पताल पुर्‍याउन सजिलो हुनेछ।”

वडाले आवश्यक प्रक्रिया अगाडि बढाएर छिट्टै एम्बुलेन्स खरिद गरिने जनाएको छ। सेवा सञ्चालनपछि उक्त एम्बुलेन्स वडाभित्रका बासिन्दाहरूका लागि २४ सै घण्टा उपलब्ध हुने व्यवस्था मिलाइने बताइएको छ।

यो पहलले सरावल–७ का साथै आसपासका वडाका बासिन्दालाई समेत स्वास्थ्य सेवा पहुँचमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित