Rashtriya Dainik

नेपाली र भोजपुरी दुवै फिल्म क्षेत्रमा जम्दै निर्देशक रमेश बोगटी

काठमाडौं ,१८ असार

चलचित्र निर्देशनमा सफलताको नयाँ उचाइ चुम्दै रहेका रमेश बोगटी नेपाली तथा भोजपुरी सिनेमा क्षेत्रमा आफ्नो छाप छोड्न सफल भएका छन्। फोटोग्राफीबाट आफ्नो करिअरको सुरुवात गरेका बोगटीले संघर्ष र परिश्रमका साथ फिल्म निर्देशनमा नाम कमाएका छन्।

फोटोग्राफीबाट आफ्नो कलात्मक यात्रा सुरु गरेका रमेश बोगटी अहिले नेपाली र भोजपुरी फिल्म उद्योगका सफल निर्देशकका रूपमा परिचित हुँदै गएका छन्। हालै उनले निर्देशन गरेको चलचित्र “अर्जुन २” को छायांकन कार्य सम्पन्न भएको छ।

रिलको समयमा चलचित्रको मोह लागेपछि बोगटीले तीन महिनाको फोटोग्राफी तालिम लिएर आफ्नै स्टुडियो सञ्चालन गरेका थिए। त्यसै क्रममा चर्चित निर्देशक दीपक रायमाझी स्टुडियोमा आएर फोटो खिचाउने मौका दिए। रायमाझीको सिफारिसले उनलाई चलचित्र सेलिब्रेटीहरूसँग फोटोग्राफी गर्ने अवसर मिल्यो, जुन उनको भविष्यका लागि ठूलो मोड सावित भयो।

क्यामेरा पछाडिबाट निर्देशनतर्फको यात्रा
राजेश हमाल र विराज भट्ट अभिनीत “मैदान” फिल्मको सुटिङ सेटमा क्यामेरा पछाडिबाट निर्देशकको काम अवलोकन गर्दै उनले निर्देशनबारे गहिरो समझदारी बनाएका थिए। यिनै अनुभवहरूले उनलाई “नसीब आफ्नै” फिल्ममार्फत छायांकनको औपचारिक प्रवेश दिलायो।

त्यसपछि उनले “किन गरे माया” फिल्ममार्फत निर्देशनमा डेब्यु गरे। यो फिल्मले निर्माता र समीक्षक दुवैको ध्यान तानेपछि उनले “ज्याकपोट”, “जय सम्भु” र “प्रेमबाणी” जस्ता फिल्म निर्देशन गरे। विशेषगरी “जय सम्भु” फिल्मले नेपाली दर्शकमाझ राम्रो उपस्थिति जनाएको थियो।

रमेश बोगटीको निर्देशन शैली भारतमा पनि लोकप्रिय हुँदै गएको छ। हालसम्म उनले ८/९ वटा भोजपुरी फिल्महरू निर्देशन गरिसकेका छन्, जसमा “प्रेम गीत (भोजपुरी)” , सर्फेरा ,मिसन चाइना , जानसे प्यारी बहना हमारी जस्ता शीर्षक प्रमुख छन्। बिहार राज्यमा विशेष लोकप्रियता कमाएका बोगटी भोजपुरी सिनेमाका नयाँ सम्भावनाका निर्देशकको रूपमा पनि हेरिँदैछन्।

बोगटी भन्छन्, “नेपाली फिल्म उद्योगले स्क्रिप्टमा ध्यान दिनुपर्छ। वर्षमा सयभन्दा बढी फिल्म आउँछन्, तर मात्र ५–८% ले लगानी सुरक्षित गर्छन्।” उनी सशक्त कथावस्तु र प्राविधिक पक्षमा विशेष ध्यान दिने निर्देशनमा विश्वास राख्छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित