राष्ट्रिय दैनिक / नवलपरासी ,१८ साउन
नेपाली कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री बिक्रम खनालविरुद्ध पार्टीले कडा अनुशासनात्मक कारबाही प्रक्रिया अघि बढाएको छ। आमनिर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन सुनियोजित भूमिका खेलेको प्रमाणसहित खनालमाथि अनुशासन उल्लंघनको आरोप लागेको हो।
पार्टी उच्च स्रोतका अनुसार खनालले संगठनको निर्णयविपरीत स्वतन्त्र ढंगले समानान्तर गतिविधि गर्दै उम्मेदवारको विपक्षमा चुनावी मोर्चा सम्हालेका थिए। पश्चिम नवलपरासी क्षेत्र नम्बर-१ मा प्रतिनिधिसभा सदस्य विनोद चौधरी र प्रदेश सभा सदस्य देवकरण कलवार र क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार देवेन्द्रराज कँडेललाई हराउन प्रदेश महामन्त्री खनालसहितका नेताहरुको प्रत्यक्ष भूमिका खेलेको प्रमाणसहित कारवाहीको सिफारिस गरिएको छ। खनालकाे त्यस कदमलाई नेपाली कांग्रेसले गम्भीर संगठन घातको रूपमा लिएको छ।
कारबाही प्रक्रिया सुरु भएपछि खनालको गृहजिल्ला पश्चिम नवलपरासीमा तनावपूर्ण अवस्था देखिएको छ। उनका कट्टर समर्थकहरू सडकमा आक्रोश पोखिरहेका छन् भने केही स्थानमा भावुक दृश्य पनि देखिएको छ।
खनालको बचाउमा कांग्रेस भित्रकै केही समूह खुलेर उत्रिएका छन्। उनीहरूले नेतृत्वमाथि गुटगत कारबाहीको आरोप लगाउँदै चेतावनी दिएका छन्— “यदि खनालजस्ता नेता अपमानित भए, संगठन चुँडिन्छ।”
अनुशासन समिति तथा अन्य वरिष्ठ नेताहरू भने खनालमाथिको कारबाहीलाई आवश्यक र सन्देशमूलक कदमको रूपमा चित्रित गर्दैछन्। उनीहरूको भनाइ छ— “कांग्रेस अनुशासनबिनाको जंगल होइन, जो पार्टीको निर्णय मान्दैन, उसलाई क्षमायोग्य मान्न सकिँदैन।”
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

