उमेश बि.क / नवलपरासी,१७ असार
सरकारी लापरवाही र बेवास्ताले फेरि एकपटक जनताको सम्पत्ति जथाभावी नष्ट भएको छ। पश्चिम नवलपरासीको महेशपुर भन्सारस्थित गोदाममा वर्षौँदेखि थन्किएको करिब ६२ हजार किलोग्राम चिनी अखाद्य भएपछि नजिकैको रमपुरवा स्थित झरही खोलामा लगेर नष्ट गरिएको छ।
अन्दाजी ४० लाख रुपैयाँ बराबरको मूल्य रहेको उक्त चिनी समयमै व्यवस्थापन नगर्दा म्याद गुज्रिएको हो। भन्सार कार्यालयले कुनै सुरक्षात्मक उपाय अवलम्बन नगरी चिनी वर्षौँसम्म गोदाममै थन्काएर राखेको थियो।

भन्सार प्रमुख विकास उपाध्याय स्वयंले चिनी नष्ट गरिएको पुष्टि गर्दै बताए, “लामो समयदेखि गोदाममा राखिएको चिनी म्याद सकिएर बिग्रिएकोले झरही खोलामा लगेर नष्ट गरियो।” तर विज्ञहरू भन्छन्— म्याद गुज्रिनु एकैदिनमा हुँदैन, त्यसैले चिनी बिग्रनु भन्दा पहिले नै त्यसको व्यवस्थापन गर्न सकिन्थ्यो।

स्थानीय बासिन्दाहरू र सरोकारवालाहरूले भन्सार कार्यालयमाथि कडा आलोचना गरेका छन्। “यो भनेको लापरवाही मात्र होइन, जनताको करबाट उठेको राज्यको सम्पत्तिमा भएको खुला दुरुपयोग हो,” एक स्थानीय व्यापारीले भने।

भन्सारको निरीक्षण प्रणाली, भण्डारण व्यवस्थापन र सावधानी अपनाउने नीति एकदमै कमजोर रहेको देखिएको छ। यस्तो संवेदनशील सामग्रीको नियमित निरीक्षण नगर्नु र आवश्यक निर्णय लिन ढिलाइ गर्नु भन्सार प्रशासनकै असक्षम नेतृत्वको संकेत भएको विश्लेषकहरू बताउँछन्।

यस घटनाले फेरि एकपटक प्रश्न उठाएको छ— के सरकारी निकायहरू जनताको सम्पत्ति र राज्यको राजस्वप्रति उत्तरदायी छन्? यदि यस्तै बेवास्ता र अकर्मण्यता जारी रह्यो भने यस्ता घटना दोहोरिनु समयको मात्र कुरा हो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

