Rashtriya Dainik

“कृषि ज्ञान केन्द्र हो कि ध्यान केन्द्र? मलाई लाज लाग्छ” — सांसद जैसवालको चौबेप्रति कडा टिप्पणी

उमेश बि.क /नवलपरासी , १७ असार

२२औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ जैसवालले कृषि ज्ञान केन्द्र नवलपरासीका प्रमुख रविन्द्रनाथ चौबेप्रति कडा असन्तुष्टि जनाएका छन्।

कार्यक्रममै चौबेलाई घचघच्याउँदै सांसद जैसवालले भने, “कृषि ज्ञान केन्द्र हो कि ध्यान केन्द्र? मलाई त लाज लाग्छ, यस्तो संस्थाबाट किसानलाई के आशा?”

सिँचाइ परियोजनाका नाममा जम्मा १० देखि १२ हजार रुपैयाँको बजेट विनियोजन गरिएको देखाउँदै सांसद जैसवालले यस्ता योजनालाई ‘खेती होइन, खेलवाड’ को संज्ञा दिए। उनले सिधै चौबेप्रति इंगित गर्दै संस्थाको नेतृत्वप्रतिको असन्तुष्टि खुलेर सार्वजनिक गरेका हुन्।

“कृषकलाई सिँचाइको सुविधा चाहिएको छ, योजना होइन खेलवाड। यदि प्रदेश सरकारबाट ५० लाख आएको हो भने त्यो रकम प्रयोग गरेर कम्तीमा ५० देखि १०० वटा बोरिङ गाड्न सकिन्थ्यो,” — सांसद जैसवालले भने।

उनले कृषि ज्ञान केन्द्रलाई किसानका वास्तविक समस्यामा केन्द्रित हुन आग्रह गर्दै योजनाहरू व्यवहारिक बनाउन र बजेटको दुरुपयोग नगर्न चेतावनीसमेत दिए।

कार्यक्रममा सहभागी किसान र सरोकारवालाहरूले पनि चौबेको नेतृत्वमा रहेको कृषि ज्ञान केन्द्रले ‘प्रभावकारी योजना बनाउन नसकेको’, ‘कागजी काममै सीमित’ भएको र ‘स्थानीय किसानसँग समन्वय नै नगर्ने’ गुनासो गरेका थिए।

बजेटको स्पष्ट विवरण सार्वजनिक गर्नुपर्ने माग गर्दै सांसद जैसवालले अब कृषकको अधिकारमा खेलवाड सह्य नहुने चेतावनीसमेत दिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित