आरपि उपाध्याय / नवलपरासी ,१७ असार
पश्चिम नवलपरासी सुस्ता गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा महामारीजन्य विभिन्न सरुवा रोग रोकथाम र नियन्त्रण सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
सुस्ता गाउँपालिका अन्तर्गतका जनप्रतिनिधि, स्वास्थ्य शाखा प्रमुख र सरोकारवाला निकायहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।
सुस्ता गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायको अध्यक्षतामा सरुवा रोग रोकथाम र नियन्त्रण सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो।

अन्तरक्रिया कार्यक्रममा मेडिकल अधिकृत चन्द्र शेखर यादव र सुस्ता गाउँपालिका स्वास्थ्य शाखा प्रमुख केशरी भट्टराईले सहजीकरण गर्नुभयो।
गर्मीको मौसममा डेङ्गु,हैजा,टाइफाइड, कोरोना लगायत रोगसंग बच्न अपनाइनुपर्ने उपाय तथा महामारी फैलिनबाट रोकथाम गर्नुपर्ने योजना,नियन्त्रणबारे जानकारी गराइएको बताइएको छ।
कार्यक्रममा सहभागी र सहजकर्ताबिच प्रत्यक्ष अन्तरक्रियासहित छलफल विधिबाट कार्यक्रम भएको जानकारी प्राप्त भएको छ।
कार्यक्रमको समापनमा गाउँपालिका उपाध्यक्ष गितादेवी चौधरीले वर्षाको याममा रोग नियन्त्रण गर्ने प्रमुख उपाय नै जनचेतना रहेकोेले यसलाई सबै पक्षले आत्मसात गर्नुपर्ने धारणा राख्नुभयो।

कार्यक्रममा वडा अध्यक्ष,वडा सदस्य,स्वास्थ्य चौकी प्रमुख र व्यवस्थापन समिति लगायत ३० जना सहभागीहरुको सहभागिता रहेको आयोजकले बताएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

