सुरेश यादव / नवलपरासी ,१७ असार
आमनिर्वाचनमा पार्टीका आधिकारीक उम्मेदवारलाई हराउन भूमिका खेलेको भन्दै नेपाली कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाललाई कारवाही प्रक्रिया अगाडि बढेको छ। २०७९ सालमा सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा पार्टीका आधिकारीक उम्मेदवार हराउन प्रत्यक्ष भूमिका खेलेको भन्दै खनालमाथि कारवाहीका लागि पार्टीको केन्द्रीय अनुशासन समितिमा उजुरी परेको हो ।
अनुशासन समिति सदस्य सञ्जय गौतमले पार्टीमा अनुशासनहीनता बढेको र आधिकारीक उम्मेदवार हराउन खोज्नेलाई कारवाही गर्नुपर्नेमा जोड दिँदै खनालमाथि समिति बैठकमा कारवाहीको प्रस्ताव गरेका छन् । समितिले खनाललाई कारवाही गर्नुपर्ने निष्कर्ष निकाल्दै पार्टीमा निलम्बनको प्रस्ताव समेत गरिसकेको छ ।
सोमबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा अनुशासन समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ । समितिले आमचुनावमा पार्टीविरुद्ध उम्मेदवारी दिनेदेखि आधिकारीक उम्मेदवारलाई हराउन भूमिका खेल्ने विभिन्न जिल्लाका नेता कार्यकर्ताहरुलाई कारवाहीको सिफारिस गरेको छ।
केन्द्रीय सदस्य आनन्द ढुंगानाको संयोजकत्वमा गठित पाँच सदस्यीय अनुशासन समितिमा शेखर कोइराला समूहबाट राजीव कोइराला र गौतम सदस्य बनेका छन् भने संस्थापन समूहबाट सदस्यमा ईश्वरी न्यौपाने र ध्रुव वाग्ले छन् ।
पश्चिम नवलपरासी क्षेत्र नम्बर-१ मा प्रतिनिधिसभा सदस्य विनोद चौधरी र प्रदेश सभा सदस्य देवकरण कलवार र क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार देवेन्द्रराज कँडेललाई हराउन प्रदेश महामन्त्री खनालसहितका नेताहरुको प्रत्यक्ष भूमिका रहेको आरोप लाग्दै आएको छ ।
खनालसहितका नेताहरुलाई कारवाहीका लागि अनुशासन समितिमा सांसद विनोद चौधरी, केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल, प्रदेश सभा सदस्य देवकरण कलवार र महासमिति सदस्य लालबहादुर गुरुङले उजुरी दिएका थिए ।
आफ्नै पार्टीका उम्मेदवार हराउने बिक्रम खनालले रचेकाे सडयन्त्रकाे अडियो सुन्नुहाेस
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

