रन्जीत शर्मा/ नवलपरासी/ ०५ फाल्गुन ।
पश्चिम नवलपरासीको भारतीय सीमावर्ती महेशपुर सिमा नाकामा भारतले दशगजामा भौतिक संरचना निर्माण गरेको छ । दशगजा क्षेत्रमा दुवै मुलुकले कुनै पनि भौतिक संरचना निर्माण गर्न नपाइने भएपनि भारतले रातारात पक्की संरचना निर्माण गरेको हो ।
पाल्हिनन्दन गाउँपालिका वडा न; १ महेशपुर- ठुटीबारी नाकामा चेकजाँच गर्ने स्थल निर्माण गरेको भन्दै मंगलबार राति भारतले संरचना निर्माण गरेको पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष वैजुप्रसाद गुप्ताले बताए ।
‘भारतले एकाएक भौतिक संरचना निर्माण गरेको रहेछ । बिहानै स्थानीयले खबर गरेपछि स्थलगत अध्ययन गरेर भारतीय पक्षलाई संरचना भत्काउन आग्रह गरेका छौं,’ गाउँपालिका अध्यक्ष गुप्ताले भने,‘अब जिल्ला मार्फत केन्द्रिय सरकारले पहल लिनुपर्यो । ’

मंगलबार बिहान नभएको संरचना एकाएक बुधबार बिहान देखेपछि स्थानीय अचम्म परेका थिए । यसअघि पनि पटक पटक संरचना निर्माण गर्न खोज्दा नेपाली सुरक्षा निकायले रोकेपछि रातारात भारतीय एसएसबीले संरचना निर्माण गरेको हो ।
महेशपुर मूल भन्सार जिल्लाको सबै भन्दा बढी चहलपहल हुने क्षेत्र हो । पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले दशगजा क्षेत्रमा भारतले संरचना निर्माण गरेको सूचना आएकाले आफूले सीमावर्ती भारतीय जिल्लाको गृह प्रशासन र गृह मन्त्रालय मार्फत् कूटनीतिक पहल सुरु गरेको बताए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

