Rashtriya Dainik

जिल्लाको सरकारी कार्यालयहरुमा अनियमितता,ढिलासुस्ती, भ्रष्टाचार बढेको स्थानीयकाे असन्तुष्टि

आरपि उपाध्याय / नवलपरासी ,११ असार

पश्चिम नवलपरासीको परासीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा सुझाव दिने सहभागीहरुले जिल्लाको सरकारी कार्यालयहरुमा अनियमितता,ढिलासुस्ती, भ्रष्टाचार बढेको बताएका थिए।

उनीहरूले जिल्ला अन्तर्गतका बर्दघाट, सुनवल, रामग्राम नगरपालिका र प्रतापपुर, सुस्ता,सरावल,पाल्हीनन्दन गाउँपालिकाहरुमा विभिन्न बहाना बनाएर सेवाग्राहीलाई दु:ख दिने,सडक चेकजाँचको नाममा प्रहरीले सवारी चालकहरुलाई दु:ख दिने जस्ता प्रवृत्ति मौलाएको बताए ।


उनीहरुले स्वास्थ्य शिक्षा,खानेपानी,यातायात लगायत नागरिकको प्रत्यक्ष सरोकार रहने कार्यालयहरुमा कानुनद्वारा निर्देशितभन्दा बाहिर गइ आर्थिक प्रलोभनको दलदलमा फसे पनि सम्बन्धित निकायले रोकथाम,नियन्त्रण गर्न नसकी निरीह बनेकोमा चिन्ता पनि व्यक्त गरेका थिए।

जिल्ला प्रशासन कार्यालय नवलपरासी (ब.स.प.) को आयोजना तथा भ्रष्टाचार विरुद्ध नागरिक निगरानी संस्था नवलपरासीको सहआयोजनमा आयोजित सेवा प्रवाहमा सुशासन विषयक एक दिने अन्तरक्रिया कार्यक्रममा बोल्ने सहभागीहरुले सो कुरा बताएका हुन।

भ्रष्टाचार,ढिलासुस्तीले जरो गाड्दै गएको वर्तमान समयमा त्यसको प्रभावबाट नागरिकमा निराशा छाउदै गएकोमा त्यस्ता खाले अशोभनीय र अलोकतान्त्रिक प्रवृत्ति हटाउन सबै सरोकारवाला निकाय एक भएर अगाडि बढ्नुको बिकल्प नरहेको धारणा पनि राखिएको थियो।
कार्यक्रममा खानेपानी तथा सिचाइँ शान्ति सुरक्षा जस्तो संवेदनशिल निकायमा पनि भ्रष्टाचारले जरो गाड्न थालेपछि प्रमुख जिल्ला अधिकारी र मातहतका निकायले मासिक रुपमै अनुगमन गर्नुपर्ने सुझाव दिइयो ।

कार्यक्रममा सहभागीहरुले राखेको जिज्ञासालाई जिसस प्रमुख भगाैती प्रसाद यादव (रुदल),बर्दघाट नगरपालिका प्रमुख शम्भुलाल श्रेष्ठ,सुस्ता गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्याय,प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादव,पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजु गुप्ता, जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख अंगद बहादुर शाही,नापी कार्यालय प्रमुख कैलाशनाथ पाण्डे,मालपोत कार्यालय प्रमुख दामोदर भण्डारी,जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक अनुपम श्रेष्ठ,सशस्त्र प्रहरी बल नेपाल २६ न. गणका डिएसपी प्रमोद खड्का ,सरावल गा.पा उपाध्यक्ष बासमति हरिजन लगायतले सहभागीद्वारा उठाइएको प्रश्नसहितको जिज्ञासालाई जवाफ दिनुभएको थियो।

कार्यक्रममा पश्चिम नवलपरासीका राजनीति दलका प्रमुख र प्रतिनिधिहरुले पनि आफ्नो धारणा राख्नुभएको आयोजकले बताएको छ। नागरिक सुनवाइ कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य बैजनाथ जैसवालले प्राप्त उपलब्धिको रक्षा गर्दै नागरिकमा छाएको निराशालाई यथाशिघ्र सम्बोधन गरेर अगाडि बढ्नुपर्ने धारणा राख्नुभएको थियो।

कार्यक्रमको अध्यक्षता गर्नुभएका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले अन्तरक्रिया कार्यक्रममा उठाइएको जिज्ञासालाई अक्षरशः पालन गरिने बताउदै अनियमितता,ढिलासुस्ती,निर्माण कार्यमा लापरबाही,भ्रष्टाचार जस्ता कार्य रोक्न प्रशासनले कानुन सम्मत ढङ्गबाट नियन्त्रण गरिने विचार व्यक्त गर्नुभयो।

अन्तरक्रिया कार्यक्रममा दुई दर्जन सहभागीहरुले आफ्नो धारणा राखेका थिए भने भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्था पश्चिम नवलपरासीका अध्यक्ष रामजी ज्ञवालीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै सहजीकरण पनि गर्नुभएको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित