अनिल बनिया / नवलपरासी ,११ असार
पश्चिम नवलपरासीस्थित पाल्हिनन्दन गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि रु ५३ करोड ११ लाख १३ हजार ८२१ बराबरको बजेट सार्वजनिक गरेको छ। मंगलबार सम्पन्न १८औं गाउँसभामा उपाध्यक्ष फातिमा खातुन अन्सारी (सकिना) ले प्रस्तुत गरेको बजेट सर्वसम्मत पारित गरिएको हो।
गाउँपालिकाले संघीय सरकारबाट सशर्त अनुदान, समानीकरण अनुदान, राजस्व बाँडफाँड, संघीय विशेष तथा समपूरक अनुदानमार्फत प्रमुख रकम प्राप्त गर्ने अनुमान गरेको छ। संघीय सरकारबाट कुल रु ४३ करोड ३१ लाखभन्दा बढी अनुदान प्राप्त हुने अपेक्षा गरिएको छ। यस्तै, प्रदेश सरकारबाट रु २ करोड ७९ लाख बराबरको अनुदान तथा बाँडफाँड प्राप्त हुने जनाएको छ।
बजेटमा उल्लेख गरिएअनुसार गत वर्षको मौज्दात रु ४ करोड ५० लाख रहेको छ। गाउँपालिकाका ६ वटै वडाहरूमा समानरूपमा रु १ करोडका दरले बजेट विनियोजन गरिएको छ।
उपाध्यक्ष अन्सारीका अनुसार बजेट कृषि, स्वास्थ्य, शिक्षा, खानेपानी, पूर्वाधार, प्रशासन र सामाजिक सुरक्षालगायतका क्षेत्रमा केन्द्रित गरिएको छ। कृषि क्षेत्रको सशक्तिकरणका लागि मलबीउ वितरण, सिँचाइ सुविधा विस्तार तथा कृषि अनुदान कार्यक्रम सञ्चालन गरिनेछ। स्वास्थ्य क्षेत्रमा स्वास्थ्य चौकी स्तरोन्नति, औषधि आपूर्ति तथा मातृ–शिशु सेवा प्रवर्द्धनका कार्यक्रम समावेश गरिएको छ।
शिक्षा क्षेत्रमा सामुदायिक विद्यालयहरूको पूर्वाधार सुधार, डिजिटल शिक्षा प्रवर्द्धन तथा पठनपाठन वातावरणमा सुधार ल्याउने कार्यक्रम सञ्चालन गरिनेछ। खानेपानीतर्फ सुरक्षित र गुणस्तरीय पानी वितरणमा प्राथमिकता दिइएको छ।
गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ता (दीपक) ले गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सीमित स्रोतसाधनबीच समग्र विकासलाई प्राथमिकतामा राखेर बजेट निर्माण गरिएको स्पष्ट पार्नुभयो।
गाउँपालिका प्रशासनका अनुसार बजेट शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, कृषि, साना उद्यम र सामाजिक सुरक्षा जस्ता समावेशी क्षेत्रतर्फ केन्द्रित गरिनेछ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

