Rashtriya Dainik

सरावल गाउँपालिकाकाे बजेट ५३ कराेड ३५ लाख ३५ हजार

उमेश बि.क/नवलपरासी , १० असार ।

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले ५३ करोड ३५ लाख बराबरको बजेट ल्याएको छ । मंगलबार सम्पन्न गाउँसभाको १६ औं अधिवेशनले आगामी आर्थिक वर्ष २०८२।०८३ का लागि रु ५३ करोड ३५ लाख ३५ हजारको बजेट पालिका उपाध्यक्ष बासमति हरिजनले सार्वजनिक गर्नुभएको हो।

सभामा गाउँपालिका उपाध्यक्ष बासमति हरिजनले प्रस्तुत गरेको उक्त बजेट सर्वसम्मत पारित भएको थियो । उपाध्यक्ष हरिजनका अनुसार कूल विनियोजित बजेट मध्ये चालु खर्चतर्फ रु ३२ करोड ८८ लाख ८१ हजार अर्थात ६१.६३ प्रतिशत विनियोजन गरिएको छ भने पुँजीगत खर्चतर्फ रु २० करोड ९६ लाख ९४ हजार अर्थात ३८.३७ प्रतिशत छुट्याइएको छ ।

सरावल गाउँपालिकाले आगामी आर्थिक वर्षमा संघीय सरकारबाट समानीकरण, सशर्त, समपुरक र विशेष अनुदान गरी रु ३४ करोड ३० लाख तथा प्रदेश सरकारबाट समानीकरण, सशर्त, समपुरक र विशेष अनुदान गरी रु दुई करोड ५३ लाख ३७ हजार प्राप्त हुने प्रक्षेपण गरेको छ । राजश्व बाँडफाँडतर्फ संघीय रु ९ करोड ९१ लाख, प्रदेश रु एक करोड ९८ हजार, वन रोयल्टी रु ४ लाख र घरजग्गा रजिष्ट्रेशन दस्तुर रु एक करोड ३० लाख गरी रु १२ करोड २५ लाख ९८ हजार राजश्व प्राप्त हुने अनुमान गरिएको छ ।

सात वटा वडा रहेको गाउँपालिकाले प्रत्येक वडालाई रु ९० लाखको दरले बजेट विनियोजन गरेको छ । यसबाहेक विषयगत शाखाका लागि दुई करोड ५५ लाख रुपैयाँ, पालिका स्तरीय योजनाका लागि रु एक करोड ५० लाख र क्रमागत योजनाका लागि रु ८० लाख खर्च छुट्याएको छ ।

गाउँपालिका उपाध्यक्ष हरिजनद्वारा प्रस्तुत बजेट वक्तव्य अनुसार आर्थिक विकासतर्फ रु ४ करोड २५ लाख, सामाजिक विकासतर्फ रु २१ करोड छ लाख ६० हजार, पूर्वाधारतर्फ रु १४ करोड २२ लाख, वन वातावरण तथा विपद् व्यवस्थापनका लागि रु एक करोड सात लाख, सुशासन तथा प्रशासनिक खर्चका लागि रु १२ करोड ७४ लाख ७५ हजार विनियोजन गरिएको छ।

गाउँपालिका अध्यक्ष सुखाडीप्रसाद चौधरीको सभाध्यक्षतामा भएको उक्त सभाले विनियोजन विद्ययेक र आर्थिक विद्ययेक पारित गरेको हो। असार ८ गते सम्पन्न गाउँसभाको पहिलो बैठकमा पेश गरिएको वन विद्ययेक र खानेपानी तथा सरसफाइ विद्ययेक पनि सर्वसम्मत पारित भएको छ। गाउँपालिकाले असार ८ गतेको बैठकमा आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित