दाङ,८ असार
जनमत पार्टीकी लुम्बिनी प्रदेशसभा सदस्य सुमन शर्मा रायमाझीविरुद्ध पर्सा जिल्ला अदालतले बैंकिङ कसुरसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी गरेको छ । जनमतकै नेतृ आशा कुमारी चौहानले दिएको जाहेरीका आधारमा जिल्ला अदालत पर्साले जेठ १६ गते नै रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । त्यसयता उनी फरार रहेको प्रहरीले जनाएको छ ।
चौहानले रायमाझीमाथि साढे पाँच लाख रुपैयाँ सापटी लिएर फिर्ता नगरेको, चेक काटेर दिए पनि ती बाउन्स भएको आरोप लगाएकी छन् । उनका अनुसार रायमाझीले गत भदौ ७ गते २ लाख ७५ हजार रुपैयाँको चेक दिएकी थिइन्, जुन साट्न खोज्दा बाउन्स भएको थियो । त्यसपछि दिइएका थप दुई चेकहरू पनि बाउन्स भएका थिए ।
आशा कुमारीले साढे पाँच लाखमध्ये आधा चेक अनादर र आधा बैंकिङ कसुरसम्बन्धी मुद्दा अदालतमा दायर गरेकी हुन् ।सुमन रायमाझी बर्दियाकी भएकाले जिल्ला प्रहरी कार्यालय पर्साले असार ३ गते बर्दिया प्रहरी कार्यालयलाई पत्राचार गर्दै उनलाई पक्राउ गरी बुझाइदिन अनुरोध गरेको छ ।
चौहानका अनुसार सुमनसँगको चिनजान पार्टी कार्यक्रमकै क्रममा भएको थियो । कार्यक्रममा सहभागी हुन पर्सा आएकी सुमन केही दिन होटलमा बसेकी थिइन् तर पछि आशाकै घरमा सरेर १० दिनसम्म बसेकी थिइन् । सो क्रममा खानपान, होटलबापतको रकम (२० हजार रुपैयाँ) तथा कपडा पसलबाट उधारो लिएको कपडाको मूल्यसमेत नतिरेको चौहानको आरोप छ ।
‘पैसा छैन, होटलवालाले बेइज्जत गर्छन् भन्दै नगद २० हजार लिनुभयो, कपडा पनि लैजानुभयो, अन्त्यमा मन्त्री बन्न लागेकी छु भने साढे पाँच लाख सापटी लिनुभयो र फिर्ता गर्नुभएन,’ चौहानको भनाइ छ । उनले यो विषयमा पार्टीभित्रै पटक–पटक जानकारी गराए पनि कुनै चासो नदिएको भन्दै अन्ततः कानुनी बाटो रोज्नुपरेको बताएकी छन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

