विनोद मण्डल, जेठ २२
विश्व वातावरण दिवसको अवसरमा धनगढीमाई नगरपालिकाको सभाहलमा ‘जलवायु न्यायका लागि नगर प्रमुखसँग अन्तरक्रिया कार्यक्रम’ भव्य रूपमा सम्पन्न भएको छ ।
वातावरणीय सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ आयोजित उक्त कार्यक्रममा वातावरण संरक्षण, जलवायु परिवर्तनको प्रभाव तथा दिगो विकासका लागि स्थानीय सरकारको भूमिकामा केन्द्रित रहेर विस्तृत छलफल भएको थियो ।
कार्यक्रमको आयोजना दलित जनकल्याण युवा क्लब, लाहान–१० सिराहाले गरेको हो भने धनगढीमाई नगरपालिका संयोजनकर्ताको रूपमा रहेको थियो । साथै, ActionAid नेपालले सहकार्य गर्दै कार्यक्रम सफल बनाउन महत्वपूर्ण भूमिका खेलेको थियो ।
अनिता चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर प्रमुख शिवशंकर महतो, एकता युवा सञ्जाल धनगढीमाईका पदाधिकारीहरू, महिला अधिकार मञ्च धनगढीमाईकी अनिता चौधरीसहित प्रतिनिधिहरू, पत्रकार तथा दलित जनकल्याण युवा क्लबका प्रेम राम र शोभा बरालको सहभागिता समेत रहेको थियो ।
कार्यक्रममा सहभागीहरूले नगरको वातावरणीय अवस्था र जलवायु न्यायसँग सम्बन्धित करिब दुई दर्जनभन्दा बढी प्रश्नहरू नगर प्रमुख महतोलाई राखेका थिए । मेयर महतोले करिब ५५ मिनेटको समय लिएर सहभागीहरूको सबै जिज्ञासाहरूको जवाफ दिएपछि सहभागीहरू सन्तुष्ट भएका थिए ।
सहभागीहरूले मेयरसँग यसरी प्रत्यक्ष संवाद गर्न पाउनु सुखद अनुभूति भएको बताएका छन । मेयर महतोले कार्यक्रममा सरल र स्पष्ट तवरले आफ्नो प्रस्तुति दिएका थिए, जसले सबै सहभागीहरूलाई मन्त्रमुग्ध बनाएको थियो ।
मेयर महतोले नगर क्षेत्रका विभिन्न स्थानमा करार खेती सञ्चालन गरिएको जानकारी गराउँदै चुरे संरक्षणका लागि नेपाल आर्मीमार्फत करिब ६० हजार रुख बिरुवा रोपिएको र आउँदो असार १४ गते मदन भण्डारीको जन्मजयन्तीको अवसरमा थप ३० हजार बिरुवा रोपेर वातावरण संरक्षणमा अग्रसर हुने घोषणा गरे ।
शोभा बरालको उद्घोषणमा सञ्चालित उक्त कार्यक्रम करिब दिउँसो ३ बजे सम्पन्न भएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

