दिनेश धामी ।
काठमाडौको एक ब्युटिफुल सिटीको रुपमा चिनिने किर्तिपुर प्राय पश्चिमेलीहरुको अड्डा हो । जसलाई पढन्तेको अड्डा पनि भनिने गरिन्छ । जहा टिनएज देखि अधबैंसेसम्मका बिधार्थीहरु प्राय भेटिने गर्छन । र तिनीहरुलाई भेटाउने साघुरो गल्ली हो पाङ्गा दोबाटो। जिन्दगीको गोरेटो पहिल्याउन भगिरथ पाइला चालेका प्रयत्नशिल विधार्थीहरु पाङ्गा दोबाटो छेउछाउ प्रयाप्तै भेटिन्छन । साँघुरा गल्लीका अध्यारा कोठाका झ्यालमा एक थानो पर्दा झुन्डाएर बिधार्थीहरु फराकिलो र उज्यालो भविष्यको खोजीमा हिडिरहेका हुन्छन । सायद सपनाहरुले नै थिचिएर ‘जिन्दगी सफोकेसन’ हुदो हो र साँझपख हावासंग टहलिन चोभारको डाडोतिर उक्लिँदा हुन ।
किर्तिपुर पाङ्गामा बसेर गाउँबाट आमाले पठाएको घ्युका डिब्बा , एक मानो चामल र अचारको मिठो स्वाद लिदै गाउको यादमा मुसुक्क मुस्कुराउँदै आफ्ना सपनाहरुलाई यथार्थमा परिणत गर्न अथकित पाइलाहरु चाल्दै गरेका हजारौ बिद्यार्थीहरु भेटिन्छन । सपनाहरूले भरिएको मन मस्तिष्क र उचाइमा पुग्न चालिएका पाइलाहरुबिच लय मिलाउदै आफुलाई सफलीभुत तुल्याउनका निमित्त पुतलीसडक र बानेश्वर समेत पुग्ने गर्दछन । र मैले पनि किर्तिपुरमा दुइ थरीका बिधार्थी भेटेको छु । एकथरी हुन्छन ;केही समयका लागी देशको माया मार्ने : मुलुकमा रोजगारीका पर्याप्त मात्रामा अबसर हुदाहुदै पनि र मुलुकले शिक्षा प्रणालीलाई टेक्नोलोजी बेस्ड बनाउने प्रयत्नशिल रहदारहदै पनि शिक्षालाई सिप , सिपलाई तालिम र प्रविधी र प्रविधीलाई आयआर्जनसंग जोड्न नसक्दा पनि होलान कामकै खोजीमा क्षणिक रुपमा परिवार, समाज र देशको माया मार्ने ।
अर्काथरी हुन्छन ; उच्च शिक्षा प्राप्त गरी क्यापेबल बनेर मुलुकको सेवामा समर्पित : यि मध्ये पनि कोही हुन्छन, विधार्थी राजनीति हुदै आफुलाई राजनीतिक रुपमा आबद्ध गरी मुलुकको सेवा गर्ने भने कोही हुन्छन लोकसेवा, शिक्षक सेवा, बैङ्किङ सेक्टर र फोेर्स लाइनमा आफूलाई सफलीभुत तुल्याइ राष्ट्र र जनताको सेवा गर्ने ।
किर्तिपुरमा बस्दै आएका बिधार्थीहरुका आफ्ना सपनाका निमित्त सबैका प्राय एकै प्रकारका सङ्घर्ष हुन्छन । ठुला आशा, रित्ता खोजी, अपुरो निद्रा र सफलताको भोगमा चालिएका मृगतृष्ण पाइलाहरु । र मलाई पनि, जब किर्तिपुरका गल्लीहरुमा महिनाको अन्तिम साझ आउने गर्थ्यो तब मनमा अनेकौ कुरा खेल्ने गर्थे । सेकेन्ड सेकेन्ड गर्दै बित्दै गरेको समय, आइतबार सोमबार हुदै बितेको हप्ता, बैसाख, जेठ हुदै बितेको बर्षहरुले भन्ने गर्थे । त कहिलेसम्म बस्छस किर्तिपुर? किर्तिपुरको माया मार्न सकेको छैनस ? या तेरो सपनाले न्याय पाउन सकेको छैन ? हेर त गाउमा बुढो घर, परिवार र समाजले तेरो सफलताले पर्खिरहेका छन । सपनाहरुले भरिएको रित्ता कोठाको छेवैमा झुन्डिएको भित्ते घडीले टक्क टक्क आवाज निकाल्दै भन्ने गर्दथ्यो , समय त छिप्पिसक्यो त राजा! कि कतै तैले हार मानेको त छैनस ? तेरा सपनाहरु यथार्थमा परिणत गर्न मन लाग्दैन ? एक थानो झ्यालमा झुन्डिएको पर्दा , पानीको भरमै बिताएका रातहरु ओहो अनि सङ्घर्षका ति दिनहरु ! सारा सहर मस्त निद्रामा सुतिरहेको बेला मधुरो बत्ती बाली जबरजस्ती उठदै गरेका ति मध्यरातहरू, सपनाले भरिएको मस्तिष्क, अभावबिचको लक्ष्यले भरिएको कोठा , रमाउन नसकेका पलहरु, कमाउन नसकेका एकथान साथीहरु , हात परेको असफलता , रफ भएको जिन्दगी र सपनाको जङघार तर्ने त्यो साहस । ओहो ! सम्झिए अभावको ओछ्यानमा सपनाको सिरानी लगाएर असफलताको गरिबीको सिरकले ओढ्याई रहेका ति दिनहरु ।
र मेरो पनि तपाइहरुको जस्तै सङ्घर्षको सारथी बन्यो, सेन्ट्रल लाइब्रेरी,टियु। सुनौलो भबिष्य निमार्णका लागी र आफुलाई सफल बनाउनको लागी दिनहु टियुको सेन्ट्रल लाइब्रेरी र छेउछाउमा सयौ हजारौ बिधार्थीहरु भेटिने गर्छन । ढल्किदै हेरेको उमेर , प्रगतिविहिन बन्दै गएका दिनहरु, पल पलमा टुटदै गएको सपना र सफलताको भोकमा तेर्सिएका आखाहरुले मलाई पनि झस्काउदो हो । अहं त्यो यात्रा सुनौलो भनेझै दिनहु मध्यराती बल गरी उठ्नु, झोलामा एक बोत्तल पानी र पढने सामग्री लिएर हिड्नु , साथीहरुको फोन नउठाउनु, उठाएपनि बिजी छु अब अर्को दिन भेटौला भन्नु , कतै सपना तुइने त हैन भनेर मनमा डर बोकी रहनु । अहिले पो आठ बजे उठ्छु, साच्ची ति सङ्घर्षका दिनहरु सम्झिदा निकै मिठा, यादगर र अविस्मरणीय बनेका छन । साच्चिकै ति दिनहरु सुनौला थिए । सायद म घरको कान्छो छोरो भएर पनि होला जति सङ्घर्ष मैले गर्नु पर्ने थियो त्यति दु:ख त भोग्नु परेन तर पनि केहीमात्रामा भने किर्तिपुरले सिकाएको छ । दु:ख, मिहेनत के ? सपना अनि सङ्घर्ष के ? अनि जिवन के ?
किर्तिपुर बसेको धेरै भाको त छैन तर पनि किर्तिपुरलाई मैले एक सुन्दर सहर मात्रै नभइ सिङगो नेपालको नाम दिएको छु । जहा भेटिन्छन, पुर्वमेची देखी पश्चिम महाकालीसम्मका बिधार्थीहरु। किर्तिपुर बिधार्थीका लागी उपयुक्त ठाउ भएर होला या छेवैमा देशकै सबभन्दा ठुलो विश्वविद्यालय भएर होला, जसले सिङगो नेपाललाई जोड्न मद्दत पुर्याएको छ । जसले पुर्व तराइ मधेस देखी कर्णाली र सुदुरपहाडसम्म जोडन सफल बनाएको छ र सिङगो नेपालको आभास दिलाएको छ । र मैले पनि किर्तिपुरमा बस्दै गर्दा, ‘ क्या अददा छौ तमी ? , खाना खाया है ब ला देखी के करलिए छे तु ? खाना खाइछे ‘ सम्मको भाषा बुझ्न पाएको छु । विभिन्न जातजाति, धर्म र उनीहरुको संस्कृतिको बारेमा जानकार हुने अबसर पाएको छु ।
निकै व्यस्त सहर किर्तिपुरले मलाइ भने दाहिनेपट्टी अडिक रहेको सैपाल हिमाल र देब्रे पट्टी उभिएको अपि हिमालको मायाको अभाव हुन दिएको छैन । प्रिय स्वप्नमाण्डु, आखाभरी सपनाहरुका कोपिला लिएर राजधानी छिरेको म, अञ्जुलीभरी जिम्मेवारीका थुङ्गा लिएर तिम्रो छेवैमा निस्किएको छु । प्रिय किर्तिपुर तिमी सम्झना लिएर मलाई पर्खिरहनु म अर्को सपना लिएर तिमीलाई भेट्न अवश्य आउने छु । ( लेखक धामी हाल निजामती सेवामा कार्यरत छन )
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

