प्रकाश न्यौपाने /नवलपरासी ,जेष्ठ १८ गते
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकास्थित दिव्यशान्ति इको पार्कमा टिकट घर, तारजाली र गेटको उद्घाटन एक विशेष समारोहका बीच सम्पन्न भएको छ। कार्यक्रम लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री देवकरण कलवारको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रममा मन्त्री कलवारले लुम्बिनी प्रदेशमा काठ कुहिएको अवस्थामा रहेको भन्दै अब काठ आयात होइन, निर्यातको दिशा लिने समय आएको उल्लेख गरे। “हाम्रो देशमा काठ प्रशस्त छ, तर पनि बिदेशबाट आयात भइरहेको छ। यो तुरुन्त रोक्नुपर्छ,” उनले भने, “५ लाख क्युफिट काठ लुम्बिनी प्रदेशमा रहेको छ, यसको उपयोग गर्न नागरिकले नागरिकताको प्रतिलिपि र रकम बुझाएपछि सहज रूपमा काठ पाउने वातावरण बनाउनुपर्छ।”
मन्त्री कलवारले लुम्बिनी प्रदेश सरकारबाट निर्माण हुने संरचनामा झ्याल तथा ढोका काठकै प्रयोग गराउने अभियान संचालन गर्ने तयारीमा रहेको जानकारी पनि दिए।
कार्यक्रममा बर्दघाट नगर उपप्रमुख रुद्रप्रकाश उपाध्यायले इको पार्क वातावरणमैत्री विकासको राम्रो उदाहरण भएको उल्लेख गर्दै फलाम र सिमेन्टजस्ता अत्यावश्यक सामग्रीबाहेक अन्य संरचना काठबाटै निर्माण गर्नुपर्ने धारणा व्यक्त गरे। “राज्यले माथिबाट दिएको भन्दा पनि समुदायले माग गरेका क्षेत्रमा बजेट आएमा त्यसको उपलब्धि प्रभावकारी हुन्छ,” उनले भने।
बर्दघाट–४ का वडाध्यक्ष वेदविना तिवारीले लुम्बिनी प्रदेशको प्रवेशद्वारलाई कलात्मक रुपमा विकास गर्न सकिने र यसबाट पर्यटन प्रवर्द्धन हुने विश्वास व्यक्त गरे। कार्यक्रममा पारिजात सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कमानसिंह थापा र दिव्यनगर टोल विकास संस्थाका अध्यक्ष भीमबहादुर रानाले सार्वजनिक जग्गाको संरक्षण र पार्क व्यवस्थापन सन्तोषजनक रहेको बताए।

उद्घाटन समारोहमा इको पार्क व्यवस्थापन समितिका अध्यक्ष गोपालसिंह राना मगरको अध्यक्षता रहेको थियो। कार्यक्रममा उपाध्यक्ष दानबहादुर शाहीले स्वागत मन्तव्य दिएका थिए भने कोषाध्यक्ष अमर थापाले सञ्चालन गरेका थिए।
समारोहमा स्थानीयवासी, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

