विनोद निगम / नवलपरासी १२ जेठ
पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका विभिन्न वडामा पाँच वर्षअघि सरकारी बजेटबाट लाखौं रुपैयाँ खर्चेर जडान गरिएका सोलर बत्तिहरू एक वर्ष नपुग्दै बिग्रिएपछि स्थानीयहरू लामो समयदेखि अन्धकारमा बस्न बाध्य भएका छन्।
वडा नं. १ महेशपुर चोक लगायतका स्थानमा जडान गरिएका बत्तिहरू चार महिनामै निभेको स्थानीयहरूको भनाइ छ। “चार महिनामै बत्ति निभ्यो, त्यसपछि मर्मत कहिल्यै भएन,” एक स्थानीयले बताए।
उनका अनुसार अघिल्लो कार्यकालका वडाध्यक्षले केही हदसम्म विकासमा चासो देखाए पनि हालका वडाध्यक्षले चुनावताका दिएको आश्वासन पुरा गरेका छैनन्। “ठूला कुरा गर्ने, तर जितेपछि केही नगर्ने अवस्था हो,” स्थानीयको गुनासो छ।
चम्कीपुर, शंकरपुर मा पनि पाँच वर्षअघि जडान गरिएका सोलर बत्तिहरू तीन महिनामै बिग्रिएका थिए। सुरुमा स्थानीय युवाहरूले मर्मत गरे पनि दोहोरिएको खराबीपछि स्थानीय सरकारबाट कुनै पहल नहुँदा बत्तिहरू स्थायी रूपमा निभेका छन्।

अन्धकारको जोखिम बत्ति नहुँदा साँझपख हिँडडुल गर्न निकै कठिन भएको छ। विशेषगरी महिला, वृद्धवृद्धा र विद्यार्थीहरू रातको समयमा अन्धकारमा यात्रा गर्न बाध्य छन्, जसले दुर्घटनाको जोखिम समेत बढाएको छ।
स्थानीय सरकारप्रति असन्तोष स्थानीय बासिन्दाहरूले वडाध्यक्ष र पालिकाप्रति गम्भीर असन्तोष जनाएका छन्। “वडाको बजेट कहाँ गयो, कसरी खर्च भयो थाहा छैन। विकासका नाममा प्रचार भयो, काम केही देखिएन,” एक स्थानीयले भने। उनीहरूको आरोप छ कि प्रदेश र संघीय सरकारको बजेटमा मात्र निर्भर रहेर काम भइरहेको छ भने पालिकाले आफ्नै स्रोतबाट काम नगरेको हो।
समयमै मर्मत नहुँदा लाखौंको लगानी व्यर्थ भएको छ। वर्षौं बत्ति नबलेको अवस्था कायम रहँदा पनि सम्बन्धित निकायहरूको चासो नदेखिनु जनविश्वास गुम्ने संकेत हो। स्थानीय तहले यथाशीघ्र समस्या समाधान नगरे जनताको आक्रोश अझ बढ्ने देखिन्छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

