Rashtriya Dainik

पर्सामा पहिलोपटक विज्ञान तथा प्रविधि विषयको अन्तरविद्यालय प्रतिस्पर्धात्मक परीक्षा हुँदै

राजन कुमार बानिया
पर्सा २ असोज
पर्सा जिल्लामा पहिलोपटक विज्ञान तथा प्रविधि विषयलाई केन्द्रमा राखेर अन्तरविद्यालय प्रतिस्पर्धात्मक परीक्षा आयोजना हुने भएको छ। विद्यार्थीहरूमा विज्ञान तथा प्रविधिप्रतिको रुचि, ज्ञान र सिर्जनात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले उक्त परीक्षा आयोजना गर्न लागिएको हो।
निचुटा माध्यमिक विद्यालयका विज्ञान शिक्षक राजु यादवको आयोजनामा हुन लागेको यस किसिमको प्रतिस्पर्धात्मक परीक्षाले विद्यार्थीहरूमा स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्नुका साथै विज्ञान तथा प्रविधि विषयप्रति थप चासो र उत्प्रेरणा जगाउने अपेक्षा गरिएको छ।
शिक्षक यादवका अनुसार यस्ता प्रतियोगितात्मक परीक्षाले विद्यार्थीहरूलाई पाठ्यपुस्तकमा सीमित नराखी विषयवस्तुलाई गहिराइमा बुझ्न र आफ्नो ज्ञान तथा क्षमताको परीक्षण गर्न अवसर प्रदान गर्छ। विद्यार्थीहरूमा विज्ञान तथा प्रविधिप्रतिको रुचि बढ्दै गएमा उनीहरूले सम्बन्धित विषयमा अझ मेहनत गर्ने र शैक्षिक उपलब्धि सुधार गर्न सक्ने उनको भनाइ छ।
“यस्ता किसिमका परीक्षाले विद्यार्थीहरूमा उत्प्रेरणा जगाउँछ, सम्बन्धित विषयप्रति चासो बढाउँछ। त्यसको परिणामस्वरूप विद्यार्थीहरूले विज्ञान तथा प्रविधि विषयमा उत्कृष्ट नतिजा हासिल गर्न सक्छन्,” विज्ञान शिक्षक यादवले बताए।
पर्सामा पहिलोपटक आयोजना हुन लागेको अन्तरविद्यालय विज्ञान तथा प्रविधि प्रतिस्पर्धात्मक परीक्षाले विद्यालयहरूबीच शैक्षिक सहकार्य र स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्नसमेत सहयोग पुग्ने विश्वास गरिएको छ। आयोजकले जिल्लाका विभिन्न विद्यालयका विद्यार्थीहरूको सहभागिता रहने गरी कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउने तयारी अघि बढाएको जनाएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित