रंजीत शर्मा, नवलपरासी / ११ जेष्ठ।
जनता समाजवादी पार्टी नेपाल (जसपा) पाल्हीनन्दन गाउँ कार्य समितिले पाल्हीनन्दन गाउँपालिका सँगको सहमति पछि सम्पूर्ण आन्दोलनका कार्यक्रमहरू स्थगित गरेको छ।
बैशाख ३० गते गाउँपालिकालाई बुझाइएको ८ बुँदे ज्ञापनपत्र, जेष्ठ ७ गते गरिएको आन्दोलन, तथा पालिका अध्यक्षद्वारा दिइएको अभिव्यक्तिलाई लिएर आज प्रमुख राजनीतिक दलका नेता सहितको सर्वदलीय बैठक बसेको थियो। बैठकमा पाल्हीनन्दन गाउँपालिकाको अध्यक्ष बैजु प्रसाद गुप्ता (दिपक) को अध्यक्षतामा सर्वसम्मत निर्णय गर्दै आन्दोलनरत पक्ष र स्थानीय सरकारबीच वार्ता समिति गठन गर्ने सहमति गरिएको हो।
वार्ता समितिमा पालिका तर्फबाट गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता, प्रवक्ता कृष्णचन्द्र यादव, वार्ड नं ०३ वार्ड अध्यक्ष गोधन हरिजन र जसपा तर्फ बाट व्यशमुनी यादव, रवीन्द्र पटेल र राम बहादुर कुर्मी रहेका छन् भने रोहबरमा प्रमुख राजनीतिक दलका नेताहरु उपस्थिति रहने बताइएको छ।
सहमति अनुसार, आगामी जेष्ठ १३ गते औपचारिक वार्ता गरी उठाइएका समस्याहरूको समाधानको उपाय खोज्ने निर्णय गरिएको छ। यसै सन्दर्भमा भोलि (जेष्ठ १२) का लागि केही राजनीतिक दलहरूले आह्वान गरेको विरोध प्रदर्शन पनि तत्कालका लागि स्थगित गरिएको छ।
बैठकमा जसपा नेपाल नवलपरासीका अध्यक्ष धरेन्द्र यादव, नेपाली कांग्रेसका उपसभापति विक्रम यादव, लोसपा नवलपरासीका अध्यक्ष मुकुर जी गिरी, राप्रपा नवलपरासीका नेता सन्तोष पाण्डे,जसपा नेपाल नवलपरासीका मुख्य सचिव मदन यादव, नेता व्यशमुनि यादव, सुनिल पटवा लगाएतको उपस्थिति रहेको थियो।
यो सहमतिले स्थानीय समस्या समाधानतर्फ सकारात्मक संकेत दिएको छ भने शान्तिपूर्ण संवादमार्फत समाधान खोज्ने प्रयासलाई बल मिलेको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

