राष्ट्रिय दैनिक /नवलपरासी , २ साउन।
मुस्लिम समुदायले मनाउने महान् पर्व मोहर्रम केही वर्षयता हिन्दु समुदायले पनि मनाउन थालेपछि सद्भावको पर्व बन्दै गएको छ ।
हिन्दुले समेत मनाउन थालेपछि धार्मिक सद्भावको पर्वका रूपमा विकसित हुँदै गएको हो । तराईका हिन्दु र मुस्लिम समुदायले एकैसाथ मनाउन थालेपछि छुट्टै रौनक थपिएको छ ।
भाकल गरी घरमा स्थापना गरिएको तहजियालाई पूजाअर्चना गर्नाले पारिवारिक सुख, समृद्धि तथा मनोकामना पूरा हुने विश्वास रहेकाले मोहर्रम पर्व मनाउन थालेको सरावलका स्थानीयले बताएका हुन । साथै यो पर्व श्रद्धापूर्वक मनाउनाले परिवारिक सुख शान्ति मिल्नुका साथै बिग्रेको कामसमेत बन्ने धार्मिक विश्वास रहेको छ ।
“यो पर्व मनाउनाले पारिवारिक सुख र मनोकामना पूरा हुने भएकाले मनाउन थालेको हो,” बताउँछन् । मुस्लिम दाजुभाइसँगै यो पर्व मनाउन पाउँदा आफूलाई निकै खुसी लागेको जन्मेजय यादवले व्यक्त गर्नुभयो । केही वर्षअघिसम्म मुस्लिम समुदायले मात्र मनाउने यो पर्वमा अब भने हिन्दुको सङ्ख्या पनि बढ्दै गएको छ । यसले गर्दा धार्मिक सद्भावसमेत कायम राख्ने धर्मगुरुहरूको भनाइ छ ।
अहिले यो पर्वलाई मधेशका हिन्दु समुदायले समेत अँगालेकाले सद्भाव कायम गर्न मद्दत मिलेको महेन्द्र चाैधरीले बताउनुभयो ।
धार्मिक गुरु हजरते इमामे हुसैनको सम्झनास्वरूप मनाइने यो चाडमा गुरुको प्रतीकस्वरूप तहाजियाको पूजा गरिने प्रचलन रहेको छ । इस्लामिक नयाँ वर्ष हिजरी संवत् सुरु भएपछि यो मनाइने गरिन्छ । घरमा पूजापाठ गरी राखिएको तहाजियालाई मुर्हरमका दिन करबलामा लगेर सेलाइने चलन छ ।
हिन्दुले घरमा पूजा गर्दा ढोल, तासा, झाझलगायतका बाजा बजाउने गर्छन् । मुस्लिम समुदायले भने मुहर्रमका दिन साहसिक प्रदर्शन गर्ने गर्छन् ।
१४ सय वर्ष पहिले इमामे हुसेनले इस्लाम धर्मलाई बचाउन आफूसहित ७२ जनाको परिवारले प्राण आहुति दिएको सम्झनास्वरूप मुहर्रम मनाउँदै आएको मुस्लिम धर्मगुरुहरू बताउँछन् । अरबी क्यालेन्डरअनुसार दस मुहर्रम पर्व प्रत्येक वर्ष मनाइन्छ ।

इस्लामिक नयाँ वर्ष हिजरी संवत्को एकदेखि १० दिनसम्म यो पर्व मनाइने मुस्लिम मौलानाको भनाइ छ । मोहर्रमको १०औँ दिनलाई आसुरा भनिने तथा त्यसै दिन मस्जिदमा कुरान पाठ गरी बेलुका खिचडा पकाएर खाने चलन रहेको मुस्लिम अगुवा जाहिद खाँले बताउनुभयो । मोहर्रम पर्व बुधबार घरमा बनाएका तहजियालाई करबलामा सेलाएपछि समापन हुने गरेको छ ।
नवलपरासी जिल्लामा हिन्दु र मुस्लिम समुदायले आपसमा मिलेर मोहर्रम पर्वलाई धार्मिक सद्भाव र सामाजिक एकताका रूपमा मनाएका छन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

