राष्ट्रिय दैनिक ,१० असार
भारतले आईसीसी टी-२० विश्वकप २०२४ सुपर–८ मा अष्ट्रेलियालाई २४ रनले हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ । ग्रुप-१ बाट भारत ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो । भारतले सेमिफाइनलमा ग्रुप-२ को उपविजेता इंग्ल्यान्डसँग खेल्नेछ ।
२०६ रनको विशाल लक्ष्य पछ्याएको अष्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाउँदै १८१ रन बनाउन सक्यो । ट्रविस हेडले ४३ बलमा ९ चौका र ४ छक्कासहित सर्वाधिक ७६ रन बनाए । मिचेल मार्शले २८ बलमा ३ चौका र २ छक्कासहित ३७ रन बनाए । ग्लेन म्याक्सवेल २०, मार्कस स्टोइनिस २, टिम डेविड १५ र डेविड वार्नर ६ रनमा आउट भए ।
भारतका अर्शदीप सिंहले ४ ओभरमा ३७ रन खर्चेर ३ विकेट लिए । कुलदीप यादवले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । अक्षर पटेल र जस्प्रित बुमराहले १-१ विकेट लिए ।
त्यसअघि सेन्ट लुसियामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले २० ओभरमा ५ विकेट गुमाउँदै २०५ रन बनाएको थियो । भारतका रोहित शर्माले ४१ बलमा ७ चौका र ८ छक्कासहित सर्वाधिक ९२ रन बनाए ।
मिचेल स्टार्कको १२ औं ओभरको दोस्रो योर्कर बलमा बोल्ड आउट भएपछि रोहित शतकबाट चुकेका थिए । त्यसअघि रोहितले तेस्रो ओभरमा स्टार्कलाई चार छक्का र एक चौकासहित कुल ३२ रन प्रहार गरेका थिए ।
ओपनर विराट कोहली शून्यमै आउट भएपनि दोस्रो विकेटका लागि रोहित र पन्तले ८९ रनको आक्रामक साझेदारी गरेका थिए । पन्त १४ बलमा १ चौका र १ छक्कासहित १५ रनमा आउट भए ।
सूर्यकुमार यादव १६ बलमा ३ चौका र २ छक्कासहित ३१ रनमा आउट भए । हार्दिक पान्ड्या १७ बलमा १ चौका र २ छक्कासहित २७, शिवम दुबे २८ र रविन्द्र जडेजाले ९ रन बनाए ।
अष्ट्रेलियाका मिचेल स्टार्कले ४ ओभरमा ४५ रन खर्चेर २ विकेट लिए । जोश हेजलवुडले ४ ओभरमा १४ रन खर्चेर १ विकेट लिए । मार्कस स्टोइनिसले ४ ओभरमा ५६ रन खर्चेर २ विकेट लिए ।
अव अफगानिस्तान र बंगलादेश सुपर- ८ को अन्तिम खेल भोली विहान खेल्नेछन् । उक्त खेलमा बंगलादेश झिनो अन्तरले विजयी भएमा अष्ट्रेलिया सेमिफाइनलमा पुग्नेछ । अफगानिस्तान विजयी भएमा भने अष्ट्रेलिया बाहिरिनेछ । पहिलो पटक सेमिफाइनल खेल्न अफगानिस्तानलाई अन्तिम खेलमा जित पर्याप्त हुनेछ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

