काठमाडौँ। राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा समस्त नेपाली सञ्चारकर्मीसहित प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता पक्षधर दिदीबहिनी दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
यस अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि पत्रकारिता कर्म गरिरहँदा सहादत प्राप्त गर्नुभएका पत्रकार सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
“विभिन्न राजनीतिक सङ्घर्ष र जनआन्दोलनको बलमा नेपालमा हामीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेका छौँ । देशमा निरङ्कुशतन्त्रलाई हटाएर लोकतन्त्र स्थापनामा प्रेसजगत्ले निर्वाह गरेको भूमिका उच्च रहेको छ । नेपाली जनताले संविधानसभाबाट निर्माण गरेको संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रताप्रति प्रतिबद्धता व्यक्त गरिएको छ”, सन्देशमा राष्ट्रियसभाका अध्यक्षले भन्नुभएको छ ।
राज्यले सञ्चार क्षेत्रको संरक्षण, संवर्द्धन एवं विकासका निम्ति आवश्यक नीति तथा ऐन कानुन निर्माण गर्न जरुरी भएको तथा प्रेस स्वतन्त्रता दिवस सरकारलाई प्रेस स्वतन्त्रताप्रतिको सम्मानको प्रतिबद्धता स्मरण गराउने र सञ्चारमाध्यम एवं सञ्चारकर्मीहरूले व्यावसायिक आचारसंहिता पालनामा प्रतिबद्ध रहने दिनका रूपमा लिनुपर्ने उहाँले बताउनुभएको छ ।
प्रेस स्वतन्त्रताबिना सुदृढ र उन्नत लोकतन्त्रको परिकल्पना गर्न सकिँदैन भन्ने विषयलाई मनन गर्दै विश्व प्रेस स्वतन्त्रता दिवसले हामी सबैलाई नागरिक अधिकार र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा प्रतिबद्ध रहन एवं नेपाल र नेपाली जनताको हितमा काम गर्न प्रेरणा मिल्ने विश्वास अध्यक्ष दाहालले सन्देशमा व्यक्त गर्नुभएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

