काठमाडौं । नयाँ सत्ता समीकरण बनेको दिनबाटै खटपट शुरु भएयता शंका र अविश्वास अझै हट्न सकेको छैन । जसलाई प्रदेशमा निर्माण हुन नसकेको सरकार र जबरजस्त रुपमा बिस्तार गरिएका सरकारले मलजल गरिरहेको छ । प्रमुख प्रतिपक्षीको बेञ्चमा पुगेको नेपाली कांग्रेसले पनि सुरुवाती दिनदेखि सत्ता ढाल्ने रणनीति लिएको देखिन्छ ।
एमाले–कांग्रेस सत्ता समीकरण बन्न खोजेको चर्चाका बीच नेकपा एकीकृत समाजवादी रणनीतिक रूपमा ‘मुभ’ हुन खोजेको देखिन्छ । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल प्रधानमन्त्री बन्ने परिस्थिति निर्माणको प्रयासमा जुटेको पाइएको छ । पार्टीका प्रमुख सचेतक मेटमणि चौधरीले प्रधानमन्त्री बन्ने प्रयास सामान्य रहेको बताउँदै प्रचण्डका कारण जनतामा निराशा छाएको दाबी गर्नुभएको छ ।
गत चैत ३० मा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदा एमाले अध्यक्ष ओलीले संसदबाटै कांग्रेस सभापति शेरबहादुर देउवालाई संवादको निम्तो दिनुभएको थियो । गत वैशाख १० मा नेकपाको ७५ औँ स्थापना दिवसमा पनि ओलीले ‘सहारा दिन्छु’ भन्दै सहकार्यका लागि तयार रहेको सन्देश दिनुभएको थियो । जसले प्रचण्डलाई झस्काइराखेको छ । यदि समीकरण परिवर्तन हुने परिस्थितिमा आफू ब्याक भएर कांग्रेसको सहमतिमा माधव नेपाललाई प्रधानमन्त्री स्विकार्न प्रचण्ड तयार रहेको स्रोत बताउँछ । तर, कांग्रेस नेता एवं सांसद प्रकाशशरण महतले यो विषयलाई इनकार गर्नुभएको छ ।
गठबन्धनकै मुख्य घटक एमाले पनि कांग्रेससँग संवादमा रहेको बताइएको छ । वर्तमान गठबन्धनमा नेपाललाई प्रधानमन्त्री बनाउन एमाले अध्यक्ष ओली सकारात्मक नदेखिएपछि नयाँ तरिकाबाट छलफल सुरु भएको हो । एकीकृत समाजवादीका नेताहरूले प्रधानमन्त्रीमा आलोपालोको सहमति भएको बताएपछि ओलीले संसदमै खण्डन गर्नुभएको थियो । माओवादी केन्द्रका महासचिव देव गुरुङले तत्काल समीकरण परिवर्तनको अवस्था नरहे पनि ग्यारेण्टी लिन भने नसकिने बताउनुभएको छ ।
अहिलेको अवस्थामा प्रधानमन्त्री प्रचण्ड नैतिक संकटमा पर्नुभएको छ । कांग्रेसले नपत्याउने र एमालेले जनताको नजरमा गिराउने प्रयत्न गर्दा सिंगो माओवादी पार्टीलाई यसले असर गरेको विश्लेषण हुने गरेको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

