राष्ट्रिय दैनिक /नवलपरासी , ८ वैशाख ।
पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले योजना प्राथमिकिकरण तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ।
शनिबार पालिकाकाे सभाहलमा कार्यक्रम गरि लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्री खड्ग बस्नेतलाई शुभकामना ब्यक्त गरिएको हाे।

पालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीकाे अध्यक्षता तथा लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्री खड्ग बस्नेतकाे प्रमुख आतिथ्यतामा लुम्बिनी प्रदेश सरकार काम र गतिविधिबारे अन्तरक्रिया , सल्लाह सुझाव सहित योजना प्राथमिकिकरण तथा शुभकामना कार्यक्रम गरिएको हाे।

कार्यक्रमलाई सम्बाेधन गर्दै लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्री खड्ग बस्नेतले मतदाताले गर्व गर्न लायक जनप्रतिनिधि बन्ने गरि काम गर्ने बताउनुभएको छ। प्रदेश सरकारले पूराना अधुरा योजना सम्पन्न गरेर मात्र नयाँ योजना अघि सार्ने नीति लिएको उहाँले बताउनुभयो ।

मन्त्री बस्नेतले आवश्यकताका आधारमा योजना छनौट गर्न जोड दिनुभयो । योजना छनौट गर्दा लाभान्वित हुने जनसंख्या, आर्थिक, रोजगारी, सांस्कृतिक लगायतका हिसावले मूल्यांकलन गर्न जरुरी रहेको बताउँदै उहाँले भन्नुभयो, “विकासको निर्माणको काम बाटो, पुलपुलेसा लगायतका पूर्वाधार बनाउने कुरा आफ्नो वडामा प्राथमिकता हुन सक्छ, तर पर्यटन र सांस्कृतिक महत्वसँग जोडिएका क्षेत्रको विकास गर्न समग्र पालिकाको हिसावले सबैभन्दा महत्वपूर्ण स्थललाई पहिलो र अन्यलाई क्रमशः प्राथमिकिरण गरि विकास गर्न सकेमात्र विकासले फड्को मार्न सकिन्छ, प्रत्येक ठाउँमा मन्दिर, पार्क, स्तुप बनाउन थाल्ने हो भने बजेट छर्ने मात्र काम हुने र प्रतिफल नआउने हुन्छ ।”

मन्त्री बस्नेतले सरावल गाउँपालिकाले अघि सारेका रजहवा वनवाटीका, मधेस सांस्कृतिक पार्क, थारु सांस्कृतिक पार्क लगायतका पर्यटकीय योजनाको प्राथमिकता निर्धारण गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “हामीले अहिले पूराना योजनालाई सम्पन्न गरि प्रयोग ल्याएर मात्र नयाँ योजना अघि सार्ने तयारी गरेका छौं, बाटो, पुलपुलेसा, खानेपानी लगायतका योजना पूराना निर्माण सम्पन्न नहुँदै नयाँ योजना थप गर्ने प्रवृत्ति रहेकोले प्रदेश सरकारले पूराना योजनालाई सम्पन्न गर्ने नीति अघि सारेको छ, आउने आर्थिक वर्षमा हामीले यस क्षेत्रका खानेपानी योनजाहरु सम्पन्न गर्ने लक्ष्य लिएका छौं”

सरावल गाउँपालिका अध्यक्ष सुखाडीप्रसाद चौधरीले प्रदेश सरकारबाट सञ्चालित पूराना योजनाहरुलाई सम्पन्न गर्ने गरि बजेट विनियोजन गरिदिन आग्रह गर्नुभयो। गाउँपालिका भित्र धेरै ठाउँमा खानेपानीका योजना अलपत्र अवस्थामा रहेको र यहाँका नागरिकले पालिकामा आएर गुनासो गर्ने गरेको बताउँदै अध्यक्ष चौधरीले प्रदेश सरकारले समयमै ती योजना सम्पन्न गरिदिने वा पालिकालाई नै सम्पन्न गर्न जिम्मेवारी दिनुपर्ने बताउनुभयो ।

अध्यक्ष चौधरीले सरावलको पर्यटन, उद्योग र सहकारी क्षेत्रको समग्र विकासका लागि प्रदेश सरकारबाट बजेट विनियोजन हुने गरि रजहवा वनवाटीका पर्यटन प्रवद्र्धन, थारु सांस्कृतिक पार्क निर्माण, मधेस सांस्कृतिक पार्क निर्माण, कोलवृक्ष पर्यटन प्रवद्र्धन, तुल्सीनगर पोखरी सौन्दर्याकरण, हुलासी खोला सौन्दर्गीकरण, कोटिही मन्दिर गोबरहिया पर्यटन प्रवद्र्धन, बर्दघाट कालिका मन्दिर पर्यटन प्रवद्धन, बुलबुले ताल पहुँच मार्ग स्तरोन्नती, धनगढवा धनपोखरा ताल प्रवद्धन, सहकारी प्रवद्धन, कृषि मल तथा बीउ विजन व्यवस्थापन लगायतका १२ वटा योजना मन्त्री बस्नेतलाई हस्तान्तरण गर्नुभएको थियो ।

उक्त अवसरमा गाउँपालिका उपाध्यक्ष बासमति हरिजन, प्रमुख प्रशासकीय अधिकृत विशाल मिश्रा, वडा नं.१ का वडा अध्यक्ष विष्णु भट्टराई, वडा नं.४ का वडा अध्यक्ष एवं प्रवक्ता सुरेश प्रसाद यादव, वडा नं. ५ का वडा अध्यक्ष लक्ष्मण चौधरी, वडा नं. ७ का वडा अध्यक्ष ह्रात खाँ धुनिया, समाजसेवी देवराज चौधरी, कृष्ण भुसाल लगायतले आआफ्नो स्थानीय क्षेत्रका योजनाहरु सम्पन्न गरिदिन ध्यानाकर्षण गराउनुभएको गाउँपालिकाका योजना शाखा प्रमुख ईश्वरी खनालले जानकारी दिनुभयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

