यस बर्ष पनि अन्तराष्ट्रिय नारी दिवस ८ मार्चको नारा “महिलाहरुमा लगानी प्रगतीमा तिब्र बृद्धि” भन्ने मूल सन्देशका साथ देश तथा विदेशमा मनार्ई रहेको पाउँछौं । यस नारी दिवस १९औ शताब्दीको शुरु देखि नै विश्व महिला दिवस वा अन्तराष्ट्रिय महिला दिवसको रुपमा विश्व भरिनै फैलिदै गएको पाईन्छ । यो दिवस साँच्चै भन्दा परिश्रमी तथा मिहनेती महिलाहरुको मूल्यांकन दिवस भनेर पनि भन्न सकिन्छ ।
यस बर्षको नाराले पनि हामी बुझ्न सक्छौं कि प्रगतीलाई तीब्र बनाउने हो भने महिलाहरुमा लगानी बढाउनु पर्ने कुरा विभिन्न स्थान देश विदेशका तह तप्कामा भएका व्यवहारिक अनुभव र सिकाइहरुबाट शिक्षा लिन सकिन्छ । आयो प्रसंग हाम्रो जस्तो विकासोन्मुख देशको अवधारणा र व्यवहारिक अभ्यास को । हाम्रो देशको समाज घर घरानाले पितृसतात्मक राज्य व्यवस्था अनुरुप नितीनियमलाई पछ्याउँदै आइरहेका छौं यद्यपी हामो देशको संविधानमा ३३ प्रतिशत महिलाको हक अधिकारलाई सुनिश्चिता गर्ने नियम उल्लेख गरिएको छ ।
समानता समावेशीतालाई आधार मानेर राज्य व्यवस्थाले प्रयास गरेको भएता पनि महिला हक अधिकार र लैगिंक समानताकोे अभियानलाई थाती राख्नु भन्ने चाहिं होइन । विकसीत देशको अवस्थालाई विश्लेषण गर्ने हो भने महिलाहरुले ठूला ठूला जिम्मेवार पदमा रही सफलतापूर्वक कार्यसम्पादन गरेका छन । लिंग र लैगिंकताको बारेमा धेरै हद सम्म उनीहरुको बुझाई उच्च तहको छ तर पनि ती देशहरुमा महिला हिंसा र असमानताका कार्यहरु छैनन भन्ने कुरा पक्कै होइनन् । यसैकारण यस वर्षको मूल नाराले यही प्र्रसंगलाई जोड दिएको छ कि महिलामा लगानी गरौं । के के हुन त ती लगानी गर्ने क्षेत्र ?
लैंगिक समानता : लिंगको आधारमा छोरा र छोरीको वीचमा जब सम्म विभेद गर्ने मानसिकता, चलन रहन्छ तव सम्म हामीले प्रगती गर्न सकिंदैन । एउटा भनाई छ चिट्टा प्राप्त गर्ने हो भने चिट्टा किन्नु पर्छ । त्यसैले जब सम्म छोरा छोरी बीच विभेदयुक्त व्यावहार रहन्छ तव सम्म प्रगती र समृद्धिकोे कल्पना मात्रै हुन्छ । भनिन्छ महिला पुरुष रथका दुई पाङ्गरा हुन तर ती पाङग्रा जब सम्म समान आकारका हुँदैनन तब सम्म द्रुत गतिमा दौडिन सक्दैनन । त्यसैले उनीहरुलाई समान अवसर र सहभागिता अति जरुरी छ । आजकल हाम्रो देशमा पनि छोरीलाई लगानी गर्ने अन्तराष्ट्रिय अभ्यास केहि मात्रामा भएको सुखद पक्ष हो तर पनि यस संस्कार र अभ्यासलाई बृहत अभियानको रुपमा अगाडी बढाउनु पर्दछ ।
कानुनी राज्यको सुनिश्चिता : महिलामाथि हुने विभेद, बलत्कार हत्या हिंसा, असुरक्षा जस्ता जघन्य अपराधले गर्दा महिलाको मनोबल घट्ने र निरुत्साहित हुने वातावरण पनि महिला विकासमा एक बाधकको रुपमा खडा भएको पाईन्छ । यसकारण दण्डहिनता र कानुनी अराजक जस्ता संस्कार र त्यस्ता पक्षपोषणको अभ्यास अन्त्य हुनु पर्दछ ।
विश्वव्यापी जन चेतना र व्यावहारिक सम्लग्नताको खाँचो : महिला अधिकार, उत्थान र समान सहभागीताको कुरा लेख रचनाहरुमा मात्रै व्यवपकता गरेर लक्ष्यमा प्राप्त गर्न सकिंदैन । हुन त विभिन्न संघ संस्थाहरु, राज्यको नियम कानुनको व्याख्य पाईन्छ तर यी तत् संबन्धि कार्यहरु पालन गरिए नगरिएको संबन्धित निकायले ठीक संग अनुगमन आवश्यक रहेको छ ।
८ मार्च मा मात्रै एक दिन विभिन्न कार्यक्रम गरेर तामझामले महिला अधिकार र उनीहरुको पीडा र समस्या अन्त हुन सक्दैन । यो दिवस तीन सय पैंसठ्ठी दिन नै गम्भीरतापूर्वक मनाउँनु पर्दछ । भाषणमा मात्रै यो गर्नु पर्र्छ उ गर्नु पर्छ हैन कि मैले योे गरे भनेर उदाहरणीय बन्नु पर्दछ ।
अन्तमा हामी भोलीको उज्वल भविष्य देख्न चाहान्छौं भने महिला पुरुष दुुवैले संयुक्त रुपमा सहभगी भएर गर्न सक्छौं । महिलाहरुमा लगानी गरौैं उनीहरुलाई ३३ प्रतिशतमा होइन ५० प्रतिशतमा पुरयाउनु पर्छ । देश तथा विदेशमा रहनु भएका सबै आमा दिदी बहिनीहरुलाई नारी दिबसको शुभकामना !
✍️ तेज गैरे
भरतपुर २, चितवन
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

