उमेश बि.क / नवलपरासी ,१५ फाल्गुन
छैठौं नवलपरासी औद्योगिक व्यापार मेलाको तयारी अन्तिम चरणमा पुगेको छ ।
पश्चिम नवलपरासीको सदरमुकाम परासीमा यही फागुन १६ देखि शुरु हुन लागेको औद्योगिक व्यापार मेलाको लागि पूर्व तयारीका काम सम्पन्न भएको आयोजकले जनाएको छ ।
परासीस्थित रामग्राम -५ वाईपास रोडमा नवलपरासी उद्योग वाणिज्य संघको आयोजनामा फागुन ३० गतेसम्म सञ्चालन हुने मेला स्थलमा अहिले स्टल निर्माण, मञ्च, बाल उद्यान, सचिवालय, प्रवेशद्धार निर्माण लगायतको कार्यहरु अन्तिम चरणमा रहेको मेला आयोजक नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश अग्रहरीले जानकारी दिनुभयो।

मेलालाई आकर्षक बनाउन र यस क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले मेलाको मूल गेट परासीको बुद्धचोकमा रहेको बुद्ध स्ट्याचुको आकृतिमा निर्माण भएको छ भने मेला परिसरमा रामग्राम स्तूप र पाल्ही मन्दिरको स्ट्याचु बनेकाे अध्यक्ष अग्रहरीले बताउनुभयो । आफ्नै संघको परासीमा रहेको भवनकै आकृतिका् झल्को दिने गरी मेला स्थलमा सचिवालय निर्माण गरिएको छ ।

औद्योगिक व्यापार मेलामा यस पटक स्थानीय उत्पादन, कृषि, पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखिएको संघका उपाध्यक्ष एवं स्टल व्यवस्थापन उपसमिति संयोजक गिरीराज पाण्डेयले जानकारी दिनुभयो । मेला स्थलमा विभिन्न बस्तुको प्रकृतिको आधारमा छुट्टाछुट्टै स्टल क्षेत्र निर्धारण गरिएको छ ।

मेलाको फागुन १६ गते संघीय सरकारका अर्थमन्त्री प्रकाश सरण महतले उद्घाटन गर्ने संघका उपाध्यक्ष राजेश गुप्तले जानकारी दिनुभयो । उक्त अवसरमा तीनै तहका सरकारका प्रतिनिधि, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं प्रतिनिधिहरु, संघीय तथा प्रदेश सांसदहरु तथा स्थानीय सरोकारवालाहरुको बृहत सहभागिता रहने उहाँले बताउनुभयो ।

मेलाको आकर्षणको रुपमा परम्परागत तथा जिल्लाको संस्कृति झल्कने गरी विभिन्न जातजातीको भेषभुषा सहितको झाँकी प्रदर्शनी, ख्याति प्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरुद्धारा विविध सांस्कृतिक कार्यक्रमहरु, नवलपरासीका स्थानीय तह स्तरीय सांस्कृतिक प्रतियोगिता, जिल्लामा रहेका कृषि उपज, लघु उद्यमी, महिला उद्यमीद्वारा उत्पादित वस्तुहरुको प्रदर्शनी, नवलपरासीका धार्मिक एवं पर्यटकीय स्थलहरुको चिनारीसहितको प्रवद्र्धन लगायत रहने संघकी महासचिव तारा आचार्यले बताउनुभयो ।

करिब दुई लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको उक्त मेलामा करिब ५ करोड १० लाख रुपैँयाको आर्थिक कारोबार हुने अपेक्षा गरिएको संघका कोषाध्यक्ष भोला पराजुलीले बताउनुभयो । मेला अवलोकनका लागि टिकटदर रु १०० निर्धारण गरिएको छ भने विद्यार्थीलाई परिचय पत्रका आधारमा रु ७० र विद्यालयबाट सामूहिक आएमा रु ५० का दरले निर्धारण गरिएको छ । ज्येष्ठ नागरिक, असक्त तथा फरक क्षमता भएकाहरुलाई भने निःशुल्क प्रवेशको व्यवस्था गरिएको कोषाध्यक्ष पराजुलीले जानकारी दिनुभयो ।

यसैबीच मेलालाई यसक्षेत्रका सवै स्थानीय सरकारहरुले प्राथमिकता दिएका छन् । आइतबार मेलाको तयारीबारे बुझ्न र थप सल्लाह सुझाव दिन भन्दै रामग्राम नगरपालिकाकी उपप्रमुख संझना चौधरी मेला स्थलको भ्रमण गर्नु भएको संघका महासचिव आचार्यले जानकारी दिनु भयो ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

