आरपी उपध्याय / नवलपरासी १५ फागुन
नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशको आयोजनामा पश्चिम नवलपरासीको सुस्तामा एक दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।
सुस्ता गाउँपालिका वडा न.५ नारायणी नदी पारी सुस्तामा आयोजना गरिएको निशुल्क स्वास्थ्य शिविरमा ३ सय बिरामीहरुको उपचार गरिएको पृथ्वीचन्द्र अस्पताल मेडिकल सुपरिटेन्डेन्ट किरण पाण्डेले जानकारी दिनुभएको छ।
निशुल्क स्वास्थ्य शिविरमा दात,छाला, हाडजोर्नी र महिला तथा बालबालिका सम्बन्धि विशेषज्ञ चिकित्सकहरुले स्वास्थ्य परीक्षण गर्नुभएको थियो।
विशेषज्ञ डाक्टरहरुको सेवाबाट टाढा रहेको नदी पारी सुस्तामा आयोजना गरिएको स्वास्थ्य शिविरमा महिला, बालबालिका,वृद्ध र अपाङ्गहरुको बाक्लो उपस्थिति रहेको जानकारीमा आएको छ।
“सेवा नै धर्म हो” भन्ने मुल नाराका साथ आयोजना गरिएको स्वास्थ्य शिविरमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुवरले उद्घाटन गर्दै राष्ट्रिय र अन्तर्राष्ट्रिय महत्व बोकेको सुस्ताको ग्रामीण भेगमा स्वास्थ्य सेवाको पहुच विस्तार हुन नसकेको र रोगको समस्या जटिल रहेकोमा विशेषज्ञ डाक्टरबाट स्वास्थ्य सेवा पुर्याउन पाएकोमा श्रीमती संघले गौरव महशुस गरेको बताउदै नेपाल प्रहरीमा कार्यरत राष्ट्र सेवकका परिवार सामाजिक सेवाका विविध क्षेत्रमा आफुमा अन्तर्निहित साधनस्रोतको उपयोग गरि लोक कल्याणकारी सेवा उपलब्ध गराउने कार्यलाई आफ्नो स्थापना कालदेखि गर्दै आएको बताउनु भयो। 
सो अवसरमा प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले विकट स्थानको रुपमा रहेको नारायणी नदी पारीको सुस्तामा राज्यद्वारा गरिने सेवा र विकासे कार्यक्रम अत्यन्त नागरिक केन्द्रित र फलदायी रहने जिकिर गर्नुभयो।
कार्यक्रममा सुस्ता गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्याय, प्रहरी उपरीक्षक काजी कुमार आचार्य लगायतले सुस्ता भुमिमा गरिएको स्वास्थ्य शिविरबाट सुस्ताका नागरिकहरुमा बलियो स्वास्थ्य सन्देश पुगेको धारणा राख्नुभएको थियो।
९५ वर्षीय टुकुर मियाको स्वास्थ्य परीक्षणबाट प्रारम्भ भएको स्वास्थ्य शिविरमा सुस्ता लगायत सिमापार भारतबाट पनि बिरामीहरु उपचारको लागि आएको जानकारी प्राप्त भएको छ।
नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशकी अध्यक्ष निलम कडायतको अध्यक्षतामा सञ्चालन भएको स्वास्थ्य शिविरमा जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव,लुम्बिनी प्रदेशका प्रहरी प्रमुख डि.आइ.जि. कुबेर कडायत,नेपाल प्रहरी श्रीमती संघकी महासचिव अन्सरी पाख्रीन लगायतको उपस्थिति रहेको थियो।
सो अवसरमा डि.आइ.जि. कडायतले सुस्ताका नागरिकहरु सङ्ग सुस्तामा शान्ति,सुरक्षाको पछिल्लो अवस्था बारे जानकारी लिनुभएको बताइएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

