Rashtriya Dainik

देवदह नगरपालिका प्रमुख प्रशासकीय अधिकृत सापकोटालाई वडाध्यक्षहरूद्वारा कुटपिट

देवदह : रुपन्देहीको देवदह नगरपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटालाई वडाध्यक्षहरूले कुटपिट गरेका छन्। सोमबार कार्यालय समयमा कार्यकक्षमै पुगेर वडा नम्बर १, ३, ४, ९, १०, ११ र १२ का अध्यक्षहरूले सापकोटामाथि हातपात गरेका हुन्।

हातपातपछि उनीहरूले प्रमुख प्रशासकीय अधिकृत सापकोटा र नगरप्रमुख ध्रुवप्रसाद खरेलको कार्यकक्षमा तालाबन्दी गरेका थिए। कार्यालयमा प्रमुख प्रशासकीय अधिकृत बस्ने कुर्सी, टेबुल, सोफासमेत तोडफोड गरिएको छ।

सुरक्षाकर्मीले घेरेपछि थप क्षति हुनबाट जोगिएको नगरपालिकाका प्रवक्ता गणेश डुम्रेले जानकारी दिए। नगर खेलकुद विकास समितिको संयोजक तोक्ने विषयमा सात वटाका वडाध्यक्षहरूले आपत्ति जनाए। कार्यविधिमा नगर खेलकुद विकास समितिको संयोजक नगरप्रमुखले तोक्ने व्यवस्थाअनुसार नगरप्रमुख खरेलले देवदह-७ निवासी खेलकुदप्रेमी कमल पाण्डेलाई संयोजक तोकेका छन्। संयोजक नगरप्रमुखले तोक्न नहुने अडानसहित वडाध्यक्षहरू आक्रोशित बनेको नगरप्रवक्ता डुम्रेले जानकारी दिए।

आक्रोशित वडाध्यक्षहरूले लगाएको प्रमुख प्रशासकीय अधिकृत र नगरप्रमुखको कार्यकक्षको ताला प्रहरीले खुलाएको छ। वडाध्यक्षहरूले प्रमुख प्रशासकीय अधिकृतलाई फोनमा पटक-पटक धम्क्याउने र कार्यकक्षमै पुगेर हातपात गर्ने घटनाले कर्मचारीहरूको मनोवल गिराएको नगरप्रवक्ता डुम्रेद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित