ओम प्रकाश यादव / रौतहट , ११ फागुन ।
रौतहटको मौलापुरमा प्रत्येक वर्ष हुँदै आएको मधानी महोत्सव यस वर्ष पनि हुन लागेको छ ।
पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मौलापुर नगरपालिकाले बर्सेनि आयोजना गर्दै आएको मधानी महायज्ञ यस वर्ष फागुन २२ गतेदेखि २६ गतेसम्म पुरातात्त्विक महादेव मन्दिर परिसरमा हुन लागेको हो ।
मौलापुर नगरपालिका-५ पतौरा स्थित पुरातात्त्विक महादेव मन्दिर परिसरमा यस वर्ष पाँचौ मधानी महोत्सव २०८० को आयोजना हुन लागेको नगरपालिकाले जनाएको हो ।
आज भन्दा पाँच वर्ष अघि उत्खननको क्रममा फेला परेको कर्नाट्कालिन पतौरा महादेव मन्दिरलाई विश्व सम्पदा सूचीमा सुचिकृत गराउन तथा मधानी महायज्ञलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने लक्ष्यका साथ नगरपालिकाले प्रत्येक वर्ष झै यस वर्ष पनि मन्दिर परिसरमा मधानी महोत्सवको आयोजना गर्न लागेको छ ।
मौलापुर पतौरामा पुर्व मन्त्री एवं आम जनता पार्टीका अध्यक्ष प्रभु साहको विशेष पहलमा नगरपालिकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकाहरुको सहभागितामा विगत २०७६ सालदेखी निरन्तर मधानी महायज्ञ हुँदै आएको छ ।
मौलापुर नगरपालिकाले आज पुरातात्त्विक महादेव मन्दिर परिसर पतौरामा पत्रकार सम्मेलनको आयोजना गरि मधानी महोत्सव बारे जानकारी दिएको हो ।

आज (शुक्रबार) मौलापुर नगरपालिकाले पतौरास्थित पुरातात्त्विक महादेव मन्दिर परिसरमा पत्रकार सम्मेलन आयोजना गरी मधानी महायज्ञ विशेष समारोह आयोजनामा हुने कार्यक्रम सार्वजनिक गरेको छ ।
महायज्ञको अवसरमा भगवान शिवको विशेष पुजा अनुष्ठान, मेला, सांस्कृतिक कार्यक्रम तथा कुस्ती प्रतियोगिता लगायतको कार्यक्रम हुने नगरपालिकाले जनाएको हो ।
पत्रकार भेटघाट कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले ऐतिहासिक,धार्मिक तथा सांस्कृतिक महत्त्व झल्किने किसिमले आयोजना हुन लागेको महायज्ञ फागुन २२ गते शुभारम्भ भई फागुन २६ गते समापन हुने बताएका छन ।
फागुन २२ गते फत्तेपुरको नाच, फागुन २३ गते मधानी यज्ञ तथा शिवको बरात, फागुन २३ र २४ गते भारतको शिव लिला प्रदर्शन र फागुन २५ गते मधानी सान्स्कृतिक समारोहको आयोजना हुने नगरपालिकाका प्रशासकिय अधिकृत साहले बताए ।
त्यस्तै महोत्सवको अन्तिम दिन फागुन २६ गते अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता आयोजना हुने कार्यक्रम रहेको उनले बताए ।
सान्स्कृतिक कार्यक्रम फागुन २५ गते दिनमै आयोजना हुनेछन । कार्यक्रम बिहान ११ बजेदेखी दिउसो ३ बजेसम्म संचालन हुने बताइएको छ ।
महोत्सवमा नेपाली तथा विदेशि लोकप्रिय कलाकारहरुद्वारा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने आयोजकले जनाएका छन् ।
यस वर्षको मधानी महोत्सवमा आफ्ना सान्स्कृतिक प्रस्तुती दिन फागुन २५ गते भारतिय बलिउड्का सुपरस्टार अभिनेता गोविन्दा अहुजा आउन लागेका हुन ।
त्यस्तै सोही दिन हिन्दी सिनेमा जगतका सुपरस्टार गोविन्दा अहुजाका साथै भारतीय भोजपुरी चर्चित नायिका निलम गिरि, भोजपुरी चलचित्र एवम् सङ्गीत क्षेत्रका लोकप्रिय कलाकार बिनय बिहारी, नेपाली फिल्मका नायक पल शाह, कमल राई, भोजपुरी गायक सुनिल पण्डित, रविराज शाह, रमाकान्त प्रसाद, बिजय यादव निर्बिज, नेपाली कलाकार दिनेश डिसि, नायिका रचना शिवाकोटी,रेविका अधिकारी, प्रीती पास्वान लगायतका कलाकारले सांस्कृतिक प्रस्तुति दिन आउन लागेको आयोजक मौलापुर नगरपालिकाले जनाएको हो ।
आयोजकका अनुसार महोत्सवमा भारत तथा नेपालका अन्य चर्चित नेपाली तथा भारतीय कलाकारको सांस्कृतिक प्रस्तुति रहनेछ ।
पत्रकार सम्मेलनमा मौलापुर नगरप्रमुख रिनाकुमारी साहले महायज्ञले मौलिक संस्कृतिको जगेर्ना गर्नुका साथै यस क्षेत्रको विशेष अनुष्ठान मधानीले विश्वस्तरमा चर्चा पाएको बताइन् ।
उनले पुरातात्त्विक महादेव मन्दिरको उत्खनन एवम् पुनर्निर्माण कार्यलाई निरन्तरता दिदै मौलापुरलाई एउटा सुन्दर धाम बनाउने र उक्त मन्दिरलाई विश्व सम्पदा सुचीमा सुचिकृत गराउन साथ दिन आग्रह गरिन् ।
पुरातात्त्विक महादेव मन्दिरलाई विश्व सम्पदा सूचीमा पुर्याउन आफू निरन्तर प्रयत्नरत रहेको उनले बताइन । नगरपालिका बाट ६० लाख रुपैयाँ खर्च गरि यो महोत्सव आयोजना गर्न लागिएको नगर प्रमुख साहले बताइन ।
६० लाख रुपैयाँ खर्च गर्दा पालिकाले महोत्सवबाट करोडौं आम्दानी वा लाभ लिन सक्ने लक्ष्य राखिएको उनले बताइन ।

महोत्सवमा सहभागी हुन भारत र नेपालका विभिन्न स्थानबाट लाखौको संख्यामा आउने गरेको दर्शक तथा भक्तजनबाट यहाको ब्यापार व्यवसाय बढ्ने गरेको पालिकाको दाबी छ ।
यस महोत्सवले मौलापुर नगरको समग्र बिकाशमा समेत ठुलो टेवा पुर्याउने गरेको पालिकाले जनाएको हो ।
मेला आयोजना हुन लागेको पुरातात्त्विक महादेव मन्दिर १२०० वर्ष पुरानो रहेको पुरातात्त्विक उत्खननबाट देखिएको थियो ।
सो मन्दिर पर्यटकहरुका लागि एउटा महत्वपूर्ण गन्तव्य बनाउन मौलापुर नगरपालिकाले मन्दिरको संरक्षण एवम् प्रचारको कार्य गर्दै आएको हो । देशको नयाँ सय वटा पर्यटकीय गन्तव्यमा समेत उक्त मन्दिर छनोट भएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

