काठमाडौं । स्याङ्जाको वालिङ–५ वडा कार्यालयले हल गोरु पाल्ने कृषकलाई अनुदान उपलब्ध गराउने भएको छ ।
आधुनिकतासँगै बढ्दो यान्त्रिकीकरणका कारण गोरु पाल्ने चलन हराउँदै गएकाले ‘हल गोरु पालन प्रोत्साहन एवं प्रवर्धनामत्मक’ कार्यक्रमअन्तर्गत कृषकलाई पाँच हजार रुपैयाँ अनुदान उपलब्ध गराउने वडाअध्यक्ष छविलाल आलेले जानकारी दिनुभयो ।
आधुनिक प्रविधि, हाते ट्र्याक्टर लगायतका प्रयोगले हाम्रो परम्परा हराउँदै गएकाले त्यसको संरक्षणका लागि वडाले अभियानका रुपमा हल गोरु पाल्ने किसानलाई अनुदान दिने नीति अगाडि सारेको वडाअध्यक्ष आलेको भनाइ छ ।
‘नयाँ पुस्ता प्रविधितर्फ आकर्षित हुँदै गर्दा गोरुपालनका लागि वडाले बजेट विनियोजन गरेको छ, हाम्रो परम्पराको संरक्षणका लागि पनि यसले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौँ।’ वडाअध्यक्ष आलेले बताउनुभयो ।
वडा कार्यालयले आर्थिक वर्ष २०८०–८१ को वडास्तरीय स्वीकृत योजनाबाट वडाभित्रका हल गोरु पालेका कृषकलाई अनुदान दिने बताइएको छ । वडाभित्र ५०–७० हल गोरु हुनसक्ने वडाको अनुमान छ ।
कृषि प्रयोजन तथा प्राङ्गारिक मलका लागि गोरु पाल्दै आएका कृषकलाई गोरुको संरक्षण तथा प्रोत्साहनस्वरुप न्यूनतम पाँच हजार उपलब्ध गराउनेछ । तर कृषकले हल गोरु पालेको–नपालेको, टोलका स्थानीय तथा जनप्रतिनिधिको स्थलगत अनुगमनपछि मात्रै अनुदान दिइने वडा कार्यालयले जनाएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

