Rashtriya Dainik

गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माणको ७० प्रतिशत लागत बाग्मती सरकारले बेहोर्ने

चितवन/माघ २४

चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको ७० प्रतिशत खर्च बागमती प्रदेश सरकारले बेहोर्ने भएको छ । प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले रङ्गशाला निर्माणका लागि भरतपुर महानगरसँगको सम्झौताअनुसारको स्रोत सुनिश्चितता गर्ने निर्णय गरेको हो ।

बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले महानगरपालिकासँगको सम्झौताअनुसार प्रदेश सरकारले रङ्गशालाका लागि रु ५२ करोड ५० लाखको स्रोत सुनिश्चितता गरेको जानकारी दिनुभयो । गत कात्तिक २१ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौँडामा सो रङ्गशाला निर्माणका लागि भरतपुर महानगरपालिकाले तयार गरेको रु ७५ करोडको लागत अनुमानमा प्रदेश सरकारले ७० र महानगरपालिकाले ३० प्रतिशत लागत बेहोर्ने सम्झौता भएको थियो ।

महानगरपालिकाले तयार पारेको पहिलो चरणको लागत अनुमानको प्रस्तावअनुसार १० हजार दर्शक अट्ने प्याराफिट र क्रिकेट मैदान निर्माण गर्ने निर्णय भएको मुख्यमन्त्री जम्कट्टेलले बताउनुभयो । बैठकले भरतपुर महानगरपालिकालाई रङ्गशाला निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाउन समेत आग्रह गरेको छ ।

आजको बैठकले राष्ट्रिय योजना आयोगले माग गरेअनुसार सङ्घीय समपूरक र विशेष अनुदानका लागि योजना सिफारिस गर्ने निर्णय गरेको छ । बैठकले समपूरक र विशेष अनुदानका लागि १०/१० वटा योजना सिफारिस गर्ने निर्णय गरेको हो ।

बैठकले अघिल्लो आर्थिक वर्षमा निर्माण सम्पन्न भई भुक्तानी बाँकी आयोजनाको भुक्तानी दिने पनि निर्णय गरेको छ । मुख्यमन्त्री जम्कट्टेलका अनुसार केही प्रक्रियाहरू पूरा गर्नु परेका कारण निर्माण सम्पन्न भए पनि भुक्तानीमा ढिलाइ भएको र हाल भुक्तानीको प्रक्रिया बढाइएको हो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित